सभासदलाई बासी खुवाएपछि चमेनागृह बन्द

काठमाडौ, १ असार । संविधान सभा गृहमा रहेको चमेना गृह बन्द हुने भएको छ । सभासदहरुलाई गुणस्तरहीन र बासी खाना खुवाएको पुष्टि भएपछि संविधानसभा सचिवालय, सिंहदरबार र संविधानसभा भवन, नयाँ बानेश्वरमा सभासदहरूका लागि सञ्चालित चमेनागृह बन्द गरिने भएका हुन् ।
यसअघि सभासदले नै खाना खाँदा वासी रहेको गुनासो गरेका थिए । त्यसपछि उक्त खाना खाद्य प्रविधि प्रयोगशालामा परिक्षणका लागि पठाइइएको थियो । पयोगशालाको परीक्षणले खानामा हानिकारक किटाणु पाइएको प्रमाणित गरेपछि संसद् सचिवालयले औपचारिक रोक लगाएको हो ।
उक्त चमेनागृह जयसुमन जनशक्ति प्रालिले संचालन गरेको हो । संविधान सभा सचिवालयले प्रालिसँग गत साउन २ गते गरेको सम्झौता आइतबारदेखि रद्द गरिएको जनाएको छ । पटक(पटक सोधिएको प्रस्टीकरण र सुधारका लागि दिइएको निर्देशन अटेर गरी खाद्य गुणस्तर र सरसफाइ अझ नाजुक देखिएकाले सम्झौता रद्द गर्नुपरेको संविधान सभा सचिवालयले जनाएको छ ।
जेठ २३ मा भएको एउटा बैठकमा खुवाइएको कुखुराको मासु र दाल दुर्गन्धित पाइएपछि कारबाहीको प्रक्रिया सुरु भएको थियो । प्रमुख दलका शीर्ष नेताहरू सदस्य रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमै त्यस्तो कमजोरी भेटिएको हो । उक्त दिन नेताहरुलाई दिइएको खाना खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा पठाइएको थियो । सो नमुना परीक्षणमा ुस्टाफाइलोकोकस औरियस, ब्यासिलियस स्पेसिजु पाइएको थियो ।
त्यसअघि पनि सभासदहरूले चमेनागृहको व्यवस्थापन र खानाको गुणस्तरबारे बारम्बार प्रश्न उठाउँदै आएका थिए । तर, शिर्ष नेताहरु नै परेपछि त्यसको परिक्षण कार्य अगाडि बढेको हो ।
संविधानसभा र संसदीय समितिका बैठक र सचिवालयका नियमित कामका सन्दर्भमा आवश्यक खानारखाजा सिंहदरबारको चमेनागृहबाट खुवाउने गरिएको थियो । सदन चलेका बेलाका लागि सभासदहरू आफैंले पैसा तिरेर खानका लागि समान व्यवस्थापनमा नयाँ बानेश्वरमा पनि चमेनागृहमा राखिएको थियो । जेठ २३ को घटनापछि संसद् कर्मचारी युनियनले दुवै स्थानका चमेनागृहमा तालाबन्दी गरेका थिए । सो ताला नखुल्दै सचिवालयले औपचारिक रूपमै चमेना गृह बन्द गर्ने निर्णय गरेको हो ।

Loading...