नक्कली सुन काण्डमा तानिए दरवारमार्गका डिएसपी, जिम्मेवारीबाट हटाइयो

काठमाडौं । प्रहरीसामु १५ केजी ‘सुन’को झोला फ्याँकेर स्कर्पियो उम्किएको घटनामा दरबारमार्ग प्रहरी वृतका प्रमुख रन्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्।

दाहाललाई प्रहरी एकेडेमीमा काज सरुवा गरिएको छ। दिनदहाडै स्कर्पियो उम्किएपछि डीएसपी दाहालको कार्य क्षमतामाथि प्रश्न उठेको थियो। दरबारमार्ग वृतले वास्तविक घटनास्थल लुकाएको आरोप पनि लागेको छ।

प्रहरीले कमलादीमा घटना भएको बताए पनि अनुसन्धानमा सुन्धारा घटनास्थल देखिएको अधिकारीहरु बताउँछन्। विवादित बनेपछि प्रहरी प्रधान कार्यालयले दाहाललाई जिम्मेवारीबाट हटाएर एकेडेमी पठाएको हो।

घटनाको दुई दिनपछि फरार भनिएको स्कर्पियो ललितपुरको नख्खिपोटस्थित एक निर्माणधिन घरको कम्पाउन्डमा छोपेर राखेको अवस्थामा फेला परेको छ। हालसम्म चार जना पक्राउ परेका छन्।

सुन्धारामा स्कर्पियोबाट फ्याँकिएको झोलामा साढे १४ केजी सुनले लेपन गरिएको चाँदी, आधा केजी सुन र दुईवटा पेस्तोल भेटिएको थियो।

Loading...