महामारीमा यातायातमा यसरी चलिरहेको छ लुटको धन्दा, प्रहरीकै मिलेमतोमा हुन्छ करोडौको खेल

काठमाडौं, ११ असार । एकातिर कोरोना महामारीकाकारण जारी गरिएको लकडाउनले आम नागरिक भोकभोकै मर्ने अवस्थामा पुगेका छन्, अर्कोतिर भने लकडाउनको फाइदा उठाउँदै कमाउनेहरुको धन्दा धमाधम चलिरहेको छ । तीन महिना लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण घटनुको सट्टा झन् झन् बढ्दो छ भने अर्र्थतन्त्र ठप्प हुँदा अनेकौ समस्या उत्पन्न भइरहेका छन् । संक्रमणको फैलावटलाई रोक्न र अर्थतन्त्रलाई थप खराब हुन नदिन पछिल्लो समय एक जिल्लाबाट अर्को जिल्ला जान आउन नपाइने गरी लकडाउन खुकुलो पारिएको छ । तर, यो निर्णय सामान्य नागरिकका लागि मात्र लागु भएको छ । पहुँचवालाहरु यो निर्णयलाई धज्जी उडाउँदै अकुत पैसा आर्जन गर्ने हतियार बनाइरहेका छन् ।

हामी धेरैले सुनेका छौ कि काठमाडौभित्र लकडाउन खुकुलो छ तर थानकोटभन्दा उता न जान पाइन्छ, न त आउन नै । सरकारले यही उर्दी जारी गरेको छ । बेलाबेला खबर पनि आइरहन्छ कि ‘बाहिरबाट राजधानी छिर्न खोज्ने गाडीहरु नागढुंगाबाटै फर्काइए’, ‘नागढुंगामा सबैभन्दा कडा चेकिङ’… आदि । त्यही आधारमा राजधानीवासीलाई लाग्छ कि बाहिर जिल्लामा भूसको आगो झै सल्किएको कोरोनाको संक्रमण राजधानीमा सितिमिति छिर्नेछैन । यातायात नचल्दा गाउँ फर्कन नपाएका धेरै नागरिकहरु राजधानीभित्र उकुसमुकुस बसिरहेका छन् । तर, यो सबै भ्रम हो । राजधानी काठमाडौंबाट दैनिक दर्जनौ गाडीहरु बाहिरिरहेका छन् र त्यस्तै संख्यामा भित्रिरहेका पनि छन् । त्यो पनि विना पास । एक स्रोतका अनुसार अहिले काठमाडौंको बालाजुस्थित बसपार्कबाट मात्र दैनिक १५ देखि २० वटा गाडीहरु पश्चिम नेपालगञ्ज, धनगढी महेन्द्रनगरतिर र १० देखि १५ वटा गाडीहरु पूर्व काँकडभित्तातर्फ जाने गरेका छन् । यी गाडीहरुमा लाने गरिएका छन्- चर्को भाडा तिर्ने मानिसहरु । यसको गहिराईमा गएर हेर्दा देखिन्छ कि सरकारका सारा संयन्त्र नै यसमा जानेर, नजानेर, प्रत्यक्ष अप्रत्यक्ष सर्वसाधारण नागरिकलाई लुट्ने धन्दामा सम्लग्न छन् । समस्यामा परेकाहरुबाट चर्को पैसा असुलेर कतिपय व्यवसायीदेखि प्रहरी, प्रशासन र राजनीतिक नेताहरु कमाइरहेका छन । सरकारले परिक्षण नबढाएर लकडाउन मात्र बढाउँदा न त कोरोना भाइरस नियन्त्रण भएको छ न त अर्थतन्त्र चलेको छ । लकडाउन बढाएर संकटमा खेल्न खोज्नेहरुका लागि उपयुक्त वातावरण तयार पारिदिने भूमिकामा सम्लग्न भएर सरकार यो लुटपाटको सहयोगी बनेको छ भने व्यवसायीहरु संकटमा परेका मान्छेहरु बटुल्दै ‘यति पैसा दिए हामी घर पुर्याइदिन्छौ नत्र यतै कुहिन्छौ’ भनेर मानिसहरुको समस्यामा खेलिरहेका छन् । अनि प्रहरीका केही हाकिमहरु त्यस्ता व्यवसायीबाट कमिसन खाएर आफ्नो नेटवर्कमा ती टिपिएका नम्वरवाला गाडीहरु सजिलै पास गराइदिएको छ । स्रोतका अनुसार लकडाउनको अवधिभरि करोडौको खेल भइसकेको छ ।

यसरी चलेको छ महामारीमा ‘लुटको धन्दा’

काठमाडौंको नयाँ बसपार्क लगायतका क्षेत्रमा अहिले एक गिरोह निकै सक्रिय छ । उनीहरु गाडीवालाहरुसँग फोनबाट नै डिल गर्छन । काठमाडौंमा अहिले अहिले ३ वटा गिरोह सक्रिय छ । यसमा प्राय राष्ट्रिय यातायात व्यवसायी महासंघका मान्छेहरु छन् । ननस्टपखबरले ती सबै गिरोहमा सम्लग्न व्यक्तिहरुको नाम, सम्पर्क नम्बर र उनीहरुले गर्ने गरेको डिलको सबै प्रमाण संकलन नै गरेको छ । उनीहरुले एउटा गाडीबाट एक ट्रिपको १५ हजारका दरले पैसा उठाउने गरेका छन् । १५ हजार पैसा तिरेपछि त्यो गाडीले जति पनि मान्छे बोक्न पाउँछ र सजिलै नागढुंगा नाका कटेर बाहिरिन सक्छ ।

यो गिरोहको सिधै ट्राफिक प्रहरीसँग मिलेमतो छ । १५ हजार पैसा बुझाउने गाडीको नम्बर ट्राफिक प्रहरीको कन्ट्रोल १०३ बाट सबैतिर टिपाइन्छ र विना रोकतोक ती गाडी चर्को भाडा असुलिएका मान्छे राखेर उपत्यकाबाट बाहिरिने गरेका छन् । त्यसरी बसहरु पास गराउँदा उनीहरुले हाेल्डिङ सेन्टरका मान्छे बाेकेकाे बताउँने गरेका हुन्छन । यस्तो सेटिङ दलाल र प्रहरीको मिलेमतोमा प्रदेशस्तरमा पनि बनाइएको छ । उपत्यकाबाट बाहिरिएपछि बाहिरका प्रदेशस्तरमा पनि समन्वय गरेर उनीहरु पूर्वपश्चिम गाडी पठाउने गरेका छन् । त्यसैगरी बाहिरबाट मानिसहरु ल्याएर उपत्यकामा पनि छिर्ने गरेका छन् । 

स्रोतका अनुसार यो कार्यमा यातायात व्यवसायी महासंघका पदाधिकारीहरुकै सम्लग्नता छ । उनीहरुले उपत्यका ट्राफिक प्रहरीका अधिकारीहरुलाई ठूलो कमिसन बुझाएर आफ्ना वा पैसा तिरेका गाडीहरु सहजै सञ्चालन गर्न सकिने वातावरण बनाएका छन् । महासंघका शक्तिशाली पदाधिकारीहरुले आफ्ना र आफ्ना नातागोेता तथा आफन्तका गाडीहरु प्राय सबैलाई काम दिएका छन् । तर, पहुँच नहुने र पैसा बुझाउन नसकेर उक्त नेटवर्कभित्र छिर्न नसक्ने वा महासंघका पावरवाला पदाधिकारीहरुसँग हिमचिम नभएका, ठाकठुक परेका व्यवसायीहरु भने यतिबेला नराम्ररी सुकेका छन् । यतिसम्म छ कि उपत्यका बाहिरका स्थानीय निकायले अत्यन्तै जरुरी कामका लागि निकै ठूलो कसरत गरेर पास मिलाइ काठमाडौं पठाएका गाडीहरु लामो समय राजधानीमै अड्किएका छन् । तिनका स्टाफहरु दिनरात गाडीमै सुत्ने खाने गरेर दिन बिताउन बाध्य छन् । दलालहरुको उक्त गिरोहले उपत्यका बाहिरबाट राजधानी आएर त्यसरी अड्किएका गाडीहरुबाट पनि प्रति गाडी ५ देखि १० हजार लिएर पास गराउने गरेको छ ।

नकिका व्यवसायीहरुबाट पैसा उठाएर उपत्यका बाहिर निस्कने र भित्र छिर्न सहज वातावरण मिलाउन सक्रिय गिरोहले राजनीतिक नेताहरुलाई समेत व्यापक रुपमा प्रयोग गर्ने गरेको छ । पूर्व गृहमन्त्रीदेखि बहालवालासम्म, मन्त्रीहरुदेखि सांसदहरुलाई समेत दुरुपयोग गरेर उनीहरुले यस्ता गाडीहरु पास गराउने गरेका हुन्छन् ।

केहीसमय अघिसम्म गाउँपालिका, नगरपालिकाका सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास दिँदै आएको थियो । तर, त्यो पासमा नै ठूलो आर्थिक चलखेल हुने गरेको खुलेपछि सबै जिल्ला प्रशासन कार्यालयले दिने पास बन्द गरिएको छ । सरकारले त्यसरी जारी हुने सबै प्रकारका पास बन्द गरेपछि पास विना नै सेटिङका गाडीहरु चलाउने यो नयाँ तरिकामा दलालहरु पुगेका हुन् । 

२ दिनअघि राजधानीकाे न्यूराेडमा खटिएका २ जना प्रहरी अधिकारीले एक व्यापारीकाे १० लाख रकम लुटेकाे घटना पनि बाहिर अाएकाे छ । यसले प्रहरीभित्रका केही खराब मानिसहरुका कारण सिङ्गाे नेपाल प्रहरीले बदनामी कमाइरहेकाे छ र रक्षकहरु नै भक्षक भएकाे देखिन गएकाे छ ।

Loading...