स्थानीय युवाको सक्रियतामा साढे पाँच किलोमिटर राजकुलो सफा गरियो

ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँबाट वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सफा गर्ने काम साढे पाँच किलोमिटर सकिएको छ ।

राजकुलोबाट पानी सञ्चालन गराउन यही जेठ २ गतेदेखि वडा नं १२ स्थित भली पुचका युवाहरूको सक्रिय सहभागितामा उक्त काम अघि बढेको हो । राजकुलोको पानी टीकाभैरवबाट थेचोको सिमानासम्म ल्याउन साढे सात किलोमिटर सफा गर्नुपर्छ ।

मंगलबारसम्म साढे पाँच किलोमिटर सफा भएको र बाँकी रहेको दुई किलोमिटर सफा गरी कुलो भत्किएका ठाउँठाउँमा पर्खाल लगाउने योजना अघि बढिरहेको पुचका अध्यक्ष विनोद महर्जनले बताए । उनले भने, ‘पर्खाल लगाएको ठाउँमा ढलान गर्नुपर्ने हुन्छ ।

ढलानको काम भने अर्काे बजेट आएपछि मात्र सम्भव भएको छ ।’ विसं २०४६ देखि राम्रोसँग सञ्चालन नभएको राजकुलोमा यस वर्ष पानी ल्याउने योजनाअनुरुप ८० बढी युवाहरू काममा खटिरहेका महर्जनले जानकारी दिए ।

सामाजिक दूरी कायम गरी धमाधम कुलो खन्ने, कुलो पुरिएका ठाउँका माटो झिक्ने र सफा गर्ने काम भइरहेको पुचका सदस्य रवीन्द्र महर्जनले बताए । उनले भने, ‘यस वर्षबाट वडा नम्बर १० देखि १३ सम्मका सबै जनताले धेरै वर्षपछि असारमा धान रोप्ने मौका पाउँदैछन् ।’

सिँचाइको सुविधा पाएसँगै चारघरे, सुनाकोठी, सेराफाँट, चापागाउँ, थेचो र झरुवारासीका जनताको मुहारमा हाँसो छाएको महर्जनले जानकारी दिए ।

सो कुलो सञ्चालनमा आएसँगै गोदावरीका ढुङ्गेधारा र पोखरी पुनःजीवित हुनाका साथै फाँटहरू उत्पादनले भरिभराउ हुने सम्भावना रहेको वडाध्यक्ष जगतबहादुर महर्जनले बताए । उक्त कुलोको पानी सञ्चालनमा आउँदा गोदावरीको करिब ६० हजार रोपनी जमिन सिँचाइ हुने महर्जनको भनाई छ ।

यही वैशाख १२ गते राजकुलो सञ्चालनका लागि पहिलो चरणमा वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, ललितपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेल तथा राजकाजी महर्जन र गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलगायतले अनुगमन गरेका थिए ।

अनुगमनमा मन्त्री फुयाँलले कुलो सञ्चालनका लागि रु ५० लाखमुनिको बजेट विनियोजन गर्ने प्रतिबद्धताअनुरुप मन्त्रालयले हाललाई रु ४९ लाख सहयोग गरिसकेको छ । कुलोको डिपिआर तयार भइसकेपछि यसलाई प्रदेशको गौरवको योजनाका साथ अघि बढाउने मन्त्री फुयाँलले बताए ।

उक्त राजकुलोबाट पानी आउने भएसँगै गोदावरीले आफ्नो नगरवासीलाई यहाँको उत्पादन बढाउन ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउबिजनसमेत बिक्री वितरण गरिरहेको छ ।

Loading...