थप २५ जनामा कोरोना संक्रमण पृष्टि, संक्रमित ४२७ पुगे

काठमाडौं । नेपालमा आज (बुधबार) थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससंगै संक्रमितको संख्या ४२७ पुगेको छ । आज (बुधबार) बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र पश्चिम नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । संक्रमित हुनेहरुमा नरैनापुर गाउँपालिका–५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष र खजुरा गाउँपालिका–५ का २७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै धनकुटामा चार जना पुरुष र एक जना महिला रहेका छन् । जसमध्ये २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीया महिला रहेका छन् ।

त्यस्तै कपिलवस्तुको विजयनगरमा २२, ३५ र ४८ वर्षीया पुरुषहरु रहेका छन् भने महाराजगञ्ज गाउँपालिकामा ३, ४ र ६ वर्षका बालबालिका, १६, २५ र ३२ वर्षीया महिला र १२, २०, २४, ३४ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै नवलपरासी पश्चिमा एक जना २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्ता गाउँपालिका–५ का ती पुरुष बेलबानी क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जानकारी दिए ।

यस्तै नेपालमा हालसम्म ४५ जना संक्रमित डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म ३५ हजार ४९४ जनामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने ७५ हजार १२ जनाको आरडीटी परीक्षण गरिएको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा २ हजार ४ सय ८८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

Loading...