लिपुलेकमा खनिएको सडक आफ्नै भूमिमा भएको भारतले जनायो प्रतिक्रिया

काठमाडौँ । लिपुलेकमा खनिएकाे सडक आफ्नै भूमिमा पर्ने भारतले दावी गरेकाे छ । भारतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ताे प्रतिक्रिया जनाएको हाे । 

शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले निकालिएकाे विज्ञप्तिमा भनिएकाे छ, ‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै पर्छ ।’

नेपाल सरकारले भारतद्वारा उद्घाटन गरिएको सडक नेपाल हुँदै गएको दाबी साथ त्यो ‘एकतर्फी’ कदमप्रति खेद व्यक्त गरेको थियो। उक्त सडक पहिले प्रयोगमा रहेको कैलाश–मानसरोवरमा नै बनेकाे र त्यही सडकलाई स्थानीय, व्यापारी र तीर्थयात्रीहरुको सुविधाका लागि नयाँरुप दिइएको प्रवक्ताले बताए।

‘भारत र नेपालले सीमासँग सम्बन्धित सबै विषयलाई सम्बोधन गर्न संयन्त्र बनाएका छन्। नेपालसँग सीमा सम्बन्धी अभ्यास जारी छन्। हाल थाती रहेका सीमा मामिलालाई हामीबीचको नजदीकी र मित्रवत् दुई पक्षीय सम्बन्धको भावना अनुरुप हल गर्न भारत प्रतिवद्ध छ’, प्रवक्ताले भने।

दुबै पक्ष विदेश सचिव तहको वार्ता प्रक्रिया निर्धारित गर्नमा लागेको र मिति निर्धारित हुनासाथ उक्त बैठक सम्पन्न हुने पनि प्रवक्ताले बताए। हाल दुबैतर्फ जनता र सरकार कोभिड–१९ विरुद्धको युद्धमा रहेको र त्यो चुनौती सम्पन्न भएलगत्तै वार्ता हुने संकेत पनि भारतीय प्रवक्ताले दिएका छन्।

भारतले लिपुलेक हुँदै सडकमार्ग बनाउन सुरु गरेको विरोधमा शनिबार काठमाडौँमा लकडाउनका बाबजुद प्रदर्शनहरु भएका थिए।

Loading...