त्रिशुली नदीमा अर्को यात्रुबस खसेर वेपत्ता

धादिङ, ११ कार्तिक । त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता भएकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको हाे । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेकाे हाे । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बिहान अँध्यारोमै गाडी नदीमा खसेकाे खबर अाएकाे जनाएकाे छ । बससँगै धेरै यात्रुकाे अवस्था अज्ञात छ । केही यात्रु भने गाडीको झ्यालबाट बाहिर निस्केका कारण उद्धार गरिएकाे छ । प्रहरी र स्थानीयले नदीमा परेका १३ घाइते यात्रुलाई उद्धार गरी गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि पुर्‍याएका छन् । गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएकाे छ । 

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको सो स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको अनुमान गरिएकाे छ । गाडीमा भएका यात्रु र तिनको अवस्थाका बारेमा जानकारी हुन सकेको छैन । प्रहरीले गाडीको नम्बर समेत नखुलेको जनाएको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएकाे छ ।

Loading...