भारतीय मिडियाहरुको नेपालबारे अर्काे अफवाह

भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ ।

समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो योजना बनाइरहेको बताइएको छ । समाचारमा भनिएका व्यक्ति जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार समेत हुन् ।

जनतामाझ लोकप्रिय रहेका गाउँपालिका प्रमुख जालिमलाई जातकै आधारमा यस्तो आरोप लगाइएको उनको पारिवारिक श्रोतले बताएको छ । भारतीय समाचार टिभी एबीपीले उनलाई तस्करको नाइके बताएको छ भने न्युज 18 ले आफ्नो समाचार पछि जगरनाथपुरमा प्रहरीले छापा नै मारेको र करिब २० जनालाई हिरासतमा लिइएको भनिएको छ ।

पर्साका सहायक सिडिओ ललितकुमार बस्नेतले भने समाचारमा कुनै सत्यता नभएको बताएका छन् । ननस्टप खबरसंग कुरा गर्दै बस्नेतले जालिम मियाँको बारेमा भारतीय पक्षले कुनै लिखित जानकारी नगराएको बताए । ” हामी पनि समाचार हेरेर छक्क परेका छौं । यस्तो केहि होइन ।” उनले भने

बामपन्थी लेखक एवं विश्लेषक रोहित दाहाल यस विषयलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताउँछन । भारतीय विस्तारवादले यहीं विषयलाई लिएर बखेडा झिक्ने खतरा तर्फ नेपाल सरकार सचेत रहनुपर्ने उनको सुझाव छ ।

Loading...