कारागारबाट बाहिरिए महरा, लाग्न थाल्यो एमसीसी मुर्दावादको नारा

काठमाडौँ, ५ फागुन१ सय ३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । बलात्कार प्रयासको आरोपमा सफाई पाएपछि उनी रिहा भएका हुन् ।

डिल्लीबजार कारागारमा महरालाई खादा र माला लगाई विदाइ गरिएको छ भने बाहिर बसिरहेका उनका समर्थक र शुभचिन्तकहरुले उनलाई सोही तरीकाले स्वागत गरेका छन् । कारागार बसाइका क्रममा सुभेक्षा र सद्भाव प्रकट गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन् । उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको बताए ।

‘बाँकी कुरा पछि भनौंला ।’ भन्दै निवर्तमान सभामुख महरा निजी गाडी चढेर खुमलटास्थित निवासतर्फ लागे । स्वागतक लागि बसेको ठूलो भिडलाइ उनले धन्यवाद भनेका थिए ।उनी जेलबाट निस्किदै गर्दा एमसीसी मुर्दावादको नारा लागेको थियो ।

सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेल को एकल इजलासले महरालाई निर्दोष ठहर गर्दै रिहा गर्ने निर्णय गरेको हो ।महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा. दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट नैतिकताको आधारमा राजीनामा दिएका थिए।

Loading...