नेपाल टेलिकमले ल्यायो आकर्षक योजना सहितको विन्टर अफर, यस्ता छन् सुविधा हेर्नुहोस!

काठमाडौं, २८ माघ । नेपाल टेलिकमले आकर्षक योजना सहितको विन्टर अफर घोषणा गरेको छ । कम्पनीको अफरमा भ्वाइस तथा डाटाका विभिन्न आठ प्रकारका प्याकेज रहेका छन् । केही दिनअघिबाटै लागू भइसकेके प्याकेज ३० चैतसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

अल टाइम डाटा प्याक

अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन्। यस अन्तर्गत ६० एमबीदेखि १४ हजार एमबीसम्मका प्याकेज खरिद गर्न सकिने छ। यी प्याकेज प्रयोग गर्न सकिने समयावधि १ दिनदेखि २८ दिनसम्म हुनेछ।

डे डाटा प्याक

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ। साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिनेछ। यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ।

नाइट डाटा प्याक

बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ। अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ।

सोसियल मिडिया प्याक

सोसियल मिडिया प्याकमा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ। यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ। यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने बताइएको छ।

युट्युब स्ट्रिमिङ डाटा प्याक

युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ। यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ। यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ।

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ। त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ। यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ।

पोष्टपेड प्याक

जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ। यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ। सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ।

बिग डाटा प्याक

नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ। यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जिबी डाटा खरिद गर्न सकिन्छ।

कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु विन्टर अफरमा पनि यथावत् रहेको बताएको छ। पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा समेत उपलब्ध छ।

Loading...