चार हजार धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौँ १४ माघ । गायिका आस्था राउतलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले प्रशासनले उनलाई रिहा गर्न आदेश दिएको बताए ।

अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजो मात्रै जिल्ला प्रशासन कार्यालयले दिएको थियो । तर, जिल्ला प्रशासन कार्यालयको त्यो आदेशको व्यापक आलोचना र विरोध भएको थियो । सोमबार आस्था परिवारको साथमा महानगरिय प्रहरी परिसर टेकु पुगेकी थिइन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन् । राउतलाई गएराति ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो । ‘हाइपर टेन्सन’ का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो ।

Loading...