भूकम्प प्रभावित मनमैजु माविले पायो पुनर्निर्मित नयाँ भवन

काठमाडौं । भूकम्पले प्रभावित तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु माध्यमिक विद्यालयले नयाँ भवन पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंले विद्यालयलाई पुनर्निर्मित नयाँ भवन हस्तान्तरण गरेको हो ।

एक भव्य समारोहका बीच प्रमुख अतिथि एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुनर्निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री मानन्धरले सरकारले विद्यालयको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको भन्दै मनमैजु माविको पुनर्निर्माणले आफूलाई उत्साहित बनाएको बताए ।

सार्वजनिक शिक्षाको सुदृढीकरण नै समृद्ध मुलुकको पहिलो आधार भएको भन्दै मानन्धरले अब अत्याधुनिक भवनको सदुपयोग गर्दै सीप र प्रविधियुक्त शिक्षण सिकाइ गर्न विद्यालयसँग आग्रह गरे । विद्यालय भवन बन्यो अब यसमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिनेकाम विद्यालयको भएको बताए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका प्रमुख अर्जुन रायमाझीले नयाँ बनेको विद्यालय भवनमा विद्यार्थी भर्न र गुणस्तरीय शिक्षा दिन स्थानीय सरकार र विद्यालयसँग आग्रह गरे । नयाँ भवनको संरक्षण र सुरक्षालाई ध्यान दिन आग्रह गर्दै रायमाझीले विद्यार्थी आकर्षित हुनेगरी सिकाइ सुधार्न शिक्षकहरुसँग आग्रह गरे ।


तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराल इकाईले बनाइदिएको भवनको संरक्षण र सुरक्षाको जिम्मा नगरपालिकाको भएको भन्दै विद्यालयमा प्रविधियुक्त सिकाइ गर्ने  र विद्यार्थी संख्या बढाउने जिम्मा आफुहरुको भएको बताए ।

विद्यालयका प्रधानाध्यापक रामभक्त महर्जनले  भौतिक सुधारसँगै अब विद्यालयको पुरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने बताए ।

Loading...