एमसीसी र सभामुखकाबारेमा सचिवालयमा फेरि कुरा बाझियो, अध्यक्षद्वयलाई समान कुर्सी र समान हैसियतको चर्चा बढी

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निर्णय टुङ्गिएको छ । सभामुख चयन र अमेरिकी परियोजना मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । यी दुई एजेन्डामा कुनै निर्णय हुन नसके पनि अन्य विषयमा केही सहमति गरिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमै बसेको बैठकमा लामै छलफल चले पनि दुई प्रमुख एजेन्डामा कुनै निर्णय नभएको स्रोतले जनाएको छ । नेकपाले अहिलेसम्म कसलाई सभामुख गराउने भनेर निर्णय लिन सकेको छैन । नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम कारबाही प्रभावित हुँदै आइरहेको छ ।

त्यसैगरी नेकपाको यसअघि बसेको स्थायी समिति बैठकमा अमेरिकी परियोजना एमसीसी बारे पनि ठूलो विवाद भएको थियो । स्थायी समितिमा त्यस विषयमाम कुरा नमिले पछि त्यसलाई टुंगो लगाउन सचिवालयको जिम्मा दिइएको थियो । यस परियोजनामार्फत् अमेरिकाले नेपाललाई ५५ अर्ब अनुदान दिने बताइएको छ । तर, यो परियोजना अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक नामक सैन्य रणनीति अन्तर्गत भएकोले त्यसलाई नेपालको परराष्ट्र नीति अनुसार स्वीकार गर्न नसक्ने कुरा उठ्दै आएको छ । त्यसैले बैठकमा उक्त प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्र बहस चलेको छ ।

आजको बैठकले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको बताइएको छ । त्यसैगरी प्रदेश ३ को राजधानी अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर्णय गरेको छ । प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन ।

नेपाल मण्डल, नेवा ताम्सालिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरुबीच विवाद थियो । यस्तै राजधानीका विषयमा पनि उनीहरुभित्र काभ्रे, भक्तपुर, हेटौँडा कहाँ राख्ने भन्नेमा विवाद थियो ।

प्रदेश सांसदहरुबीच विवाद हुँदा नामाकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेश सभा दल र प्रदेश कमिटीलाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।

प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुङ्गो लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो । नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ ।

नेकपाका अध्यक्षद्वयलाई बैठकमा समान कुर्सी समान हैैसियत

आज बसेको नेकपाको सचिवालय बैठकमा दुई अध्यक्षका लागि व्यवस्थापन गरिएको आसनको पनि चर्चा भएको छ । पहिलो पल्ट दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटै कुर्सी र समान हैसियत प्रदान गरिएकोले यसको चर्चा सर्वत्र गरिएको छ । बैठकमा ओली र दाहाललाई एउटै खालका कुर्सी एकै लहरमा बराबरी राखिएका थिए ।

यसअघि दुवैजना अध्यक्ष समान हैसियतका भए पनि पहिलो वरीयताका अध्यक्ष ओली मात्रै अगाडि बस्ने गर्थे । अर्का अध्यक्ष दाहालका लागि ओलीसँगै कुर्सी राख्ने गरिएको थिएन । कार्यकारी अध्यक्ष बनेको एक महिनापछि प्रचण्डको कुर्सी ओलीसँगै राखिएको हो ।

यसअघि नेकपाले अध्यक्ष ओलीले सरकारको कमाण्ड र दाहालले पार्टीको कमाण्ड गर्ने गरी निर्णय लिएको थियो । अब भने दाहालले कार्यकारी अध्यक्षकै हैसियतामा ओलीसँगै बैठकमा बस्ने सुविधा पाएका हुन् ।

यसअघि प्रचण्ड सचिवालय बैठकमा बरिष्ठ नेता झलनाथ खनालको छेउमा बस्थे । उनीहरुका लागि कुर्सी पनि एकै आकार र रंगको व्यवस्था गरिएको छ ।

आजको बैठकमा अन्य नेताहरुलाई पहिलेझैँ राखिएको छ । सचिवालय सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल दुई अध्यक्षको देब्रेतर्फको लाइनमा बसेका छन् । अर्कातिर माधवकुमार नेपाल र रामबहादुर थापा बादल दाहिनेतर्फको कुर्सीमा बसेका छन् ।

Loading...