स्वीकृत भयो इबोलाको ‘एर्भेभो’नामक पहिलो सुई

अमेरिका, ८ पुस। अमेरिकाको खाद्य तथा औषधि विभागले पहिलोपटक खतरनाक इबोला भाइरस विरुद्धको सुई स्वीकृत गरेको छ । विभागले ‘एर्भेभो’ नामक सो सुई स्वीकृत भएको घोषणा गरेको हो जसलाई मेरेक कम्पनीले निर्माण गरेको हो । यसले १८ वर्ष भन्दा माथि उमेरकालाई ‘जेर इबोलाभाइरस’ का कारण हुने ‘इबोला भाइरस डिजिज, इभीडी’ बाट जोगाउन सक्ने विभागले आफ्नो बयानमा बताएको छ ।

अफ्रिका बाहिर यो रोग अत्यन्तै दुर्लभ भएपनि संक्रमित क्षेत्रमा गएमा वा बिरामीको उपचार गर्ने क्रममा डाक्टरहरु पनि यसबाट संक्रमित हुन सक्ने खतरा रहँदै आएको छ । यस्तोमा अमेरिकी सरकार यस खतरनाक रोगलाई फैलिनबाट रोक्नप्रति समर्पित रहेको विभागकी कमिसनर एना अब्राह्मले बताएकी हुन् । स्वास्थ्य तथा मानव सेवाका सचिव एलेक्स अजरले पनि यो नयाँ सुइ विश्व स्वास्थ्यमा अमेरिकाको अग्रताका निम्ति अत्यन्तै खुसीको खबर भएको बताएका हुन् ।

इबोलाले कंगोको पूर्वी क्षेत्रमा मात्र २ हजारको ज्यान लिइसकेको छ भने २०१४ मा पश्चिमी अफ्रिकामा पहिलोपटक यसको महामारी फैलिएदेखि ११ हजारको मृत्यु भइसकेको छ । इबोला भाइरसलाई प्राणघातक रोग मानिन्छ जुन संक्रमित मान्छे वा जनावरको रगत, शारीरिक तरल पदार्द अथवा टिस्युसँग सम्पर्कमा आउँदा पनि स्वस्थ मानिसमा सर्न सक्छ । त्यस्तै यो संक्रमित व्यक्ति वा जीवजन्तुसँग सम्पर्कमा आएका वस्तुको सतह मार्फत पनि संक्रमण हुन सक्छ जसकारण चाँडै फैलिने हुनाले नै यो रोगलाई भयानक मानिन्छ ।

यसका लक्षणहरु ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेसी र जोर्नीहरु दुख्ने, पेट दुख्ने, कमजोरी र थकान हुने, झाडापखाला अनि बान्ता हुने र असाधारण रुपमा रगत बग्ने वा चोट लाग्ने लगायत रहेका छन् । त्यस्तै अन्तिम स्टेजसम्म पुगेमा चाहिँ आँखा रातो हुने, छालामा घाउहरु हुने अनि बाडुल्की लाग्ने गर्दछ । सिएनएन

Loading...