एमालेसँग एकीकरण गर्नु हाम्रो बाध्यता : प्रचण्ड

काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग पार्टी एकताको अभियान थाल्नु बाध्यता भएको बताएका छन् । साथै उनले यो राष्ट्रिय आवश्यकता र समयको माग पनि भएको दावी गरेका छन् ।

सबै वामपन्थी शक्ति एकै स्थानम उभिएर मात्र राष्ट्रको आवश्यकतालाई सम्वोधन गर्न सकिने बोध भएर यस अभियान तर्फ अघि बढेको दावी गर्दै प्रचण्डले यसलाई पूरा गरेरै छाड्ने बताए । नेकपा (माले) बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पनि एकता जरुरी रहेको बताए ।

उनले भने, “ध्रुवीकरणको प्रक्रिया राष्ट्रिय आवश्यकता हो । समयको चाहना हो । समाजवादी क्रान्तिको आधार तयार पार्न हामीले एकीकृत प्रयास गर्न लागेका हौँ ।” विचार, सिद्धान्त र समयको आवश्यकताका आधारमा नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टीकाबीचमा एकता अत्यावश्यक र जरुरी रहेको भन्दै उनले संविधान प्रदत्त समाजवादलाई लागू गराउनु आफूहरुको ध्येय रहेको स्पष्ट पारे ।

हिमाल, पहाड, तराईलाई एकीकृत बनाएर संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण पछिल्लो दिनमा पार्टीप्रति आर्कषण बढेको उनको दाबी थियो । फरक एक प्रसंगमा अध्यक्ष दाहालले विकास र समृद्धिमा पछाडि पारिएको सुदूरपश्चिम एवं ७ नं प्रदेशलाई समुन्नत बनाउन आफ्नो पार्टीले विशेष पहल गरेको बताए ।

“लामो समय प्रदेश नं ७ लाई पछाडि पारियो, अब त्यस्तो हुन दिइँदैन । विकासको लहर ल्याउन पनि सबै पक्ष एकीकृत र एकजुट हुनु जरुरी छ” – अध्यक्ष दाहालले भने । समाजवाद निर्माणको आधार सेती महाकालीको समृद्धिले निर्धारण गर्ने उनको भनाइ थियो ।

आर्थिक समृद्धि र परिवर्तनको चाहनालाई पूरा गर्ने लक्ष्यका साथ आफू माओवादी केन्द्रमा प्रवेश गरेको सांसद महराको भनाइ थियो । उहाँ नेकपा(माले)का तर्फबाट समानुपातिक सांसद् हुन ।

कार्यक्रममा नेकपा(माले)का नेताहरु कुमा शाही, जानकी ठगुन्ना, भुपेश्वरी शाहीलगायत नेता कार्यकर्तालाई अध्यक्ष दाहालले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

सो अवसरमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, वर्षमान पुन, लेखराज भट्ट, उर्मिला अर्याल र प्रवक्ता पम्फा भुसाललगायतको उपस्थिति थियो ।

Loading...