काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय तहमै लोकतन्त्र र गणतन्त्रको शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्।
पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण तथा शैक्षिक क्षेत्रका उपलब्धिहरूको जानकारी विद्यार्थीहरूमाझ पुर्याउनुपर्नेमा जोड दिए। उनले गणतन्त्र प्राप्तिका लागि भएको बलिदानीपूर्ण संघर्ष र त्यसबाट हासिल उपलब्धिहरूको सुस्पष्ट जानकारी नयाँ पुस्तालाई दिन जरुरी रहेको बताए।
“गणतन्त्रपछि केही पनि भएन भन्ने भ्रामक धारणा चिर्न, त्यसपछिका उपलब्धिहरू विद्यालय शिक्षामै पढाइनु आवश्यक छ,” महासचिव पोखरेलले भने।
उनले संविधान संशोधन गरेर भए पनि लोकतन्त्र तथा गणतन्त्र दिवस नागरिकस्तरमै उत्सवका रूपमा मनाउनु पर्ने धारणा राखे। यस पटक एमालेले जेठ १५ लाई ‘जनताको उत्सवको दिन’ का रूपमा मनाउने तयारी गरेको जानकारी पनि उनले दिए।
पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने सबै गतिविधिहरू जनताको सार्वभौमिकताविरुद्धका हुने भन्दै जनतालाई सचेत बनाउने अभियानका रूपमा पनि जेठ १५ लाई मनाउन लागिएको उल्लेख गरे।
“यो उत्सव कसैको विरोधमा होइन, जनताको बलिदानीबाट प्राप्त गणतन्त्र सबै नेपालीको साझा सम्पत्ति हो,” उनले स्पष्ट पारे। एमालेले यो दिन झाँकीसहित उत्सवका रूपमा मनाएर जनतामाझ ‘यो हाम्रो दिन हो’ भन्ने अनुभूति जगाउन चाहेको पनि उनले बताए।
उनका अनुसार, “लोकतन्त्रले के दियो?” भन्ने प्रश्न उठाउँदै भ्रम फैलाउने राजावादी सोचविरुद्ध जनचेतना आवश्यक छ। लोकतन्त्र जनताको शासन हो भन्ने सन्देश स्थापित गर्न एमाले सधैं अगाडि रहेको उनले बताए।
उनले राष्ट्रिय स्वाधीनता र रक्षामा अग्रणी भूमिका खेलिरहेको एमालेमाथि नियोजित रूपमा भ्रमपूर्ण आक्रमण भइरहेकाे दाबी गर्दै पार्टीको उज्यालो भविष्यका लागि सबैले सचेत भएर ती प्रहारहरूको सामना गर्नुपर्नेमा जोड दिए।