प्रहरीले समेत आफूलाई करकापमा पारेको भन्दै महरामाथि आरोप लगाउने रोशनीले अदालतमा दिइन अर्को निवेदन

काठमाडौं, ३ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीले आफूलाई प्रहरीले समेत करकापमा पारेको बताएकी छन ।

रोशनीले यस्तो दावी अदालतमै गरेर लिखित रुपमै गरेकी हुन । आइतबार अदालतमा उपस्थित भएर उनले एक लिखित पत्र समेत दर्ता गरेकी छन । काठमाडौं जिल्ला अदालतको इजलासमा उनले आफूलाई प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकी हुन् । सुरुमा महराले एक साँझ आएर बलत्कारको प्रयास गरेको र कुटपिट समेत गरेको आरोप लगाएकी रोशनीले त्यसपछि भने बयान फेरेर महरा आफ्नो बाबू समान भएको र उनले त्यस्तो केही नगरेको बताएकी थिइन । तर, त्यही क्रममा उनले एकाएक नयाँ बानेश्वर स्थित प्रहरी चौकीमा किटानी जाहेरी पनि दिइन । अहिले फेरि आएर उनले प्रहरीले करकापमा पारेर उक्त उजुरी दिन लगाएको भन्दै अदालतमा निवेदन दिएकी छन ।

यसैबीच महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी महरालाई ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।

यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद थपिएको थियो । प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको जनाएको छ । तर, बिरामी परेका कारण महराले बयान नदिएकोे पनि प्रहरीले जनाएको छ ।

प्रहरीले आज पनि अनुसन्धानका लागि ७ दिनको म्याद मागेको थियो ।

Loading...