उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि विश्वभर तरङ्ग । सुरक्षापरिषदको आकस्मिक बैठक बस्यो

काठमाडाै‌ । उत्तर कोरियाले शुक्रबार बिहान जापानी आकाशमा क्षेप्यास्त्र हानेको छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकास हुँदै गएको बताइएको छ । केही दिनअघि पनि उसले यसै गरी क्षेप्यास्त्र हानेको थियो ।

अन्तर्राष्ट्रिय समुदायको संयुक्त राष्ट्रसङ्घको स्थायी समितिले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेपछि क्रुद्ध बनेको उक्त मुलुकले अर्को क्षेप्यास्त्र जापानको आकासमा हानेको हो ।

उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो । सो परीक्षण अत्यन्तै शक्तिशाली थियो । त्यसैको प्रतिक्रिया स्वरुप राष्ट्रसंघले नयाँ प्रतिबन्धको निर्णय गरेको हो ।

शुक्रबार गरिएको क्षेप्यास्त्र परीक्षणमा पनि हाइड्रोजन बमका सेलहरु राखिएको अनुमान गरिएको छ । उत्तर कोरियाले यस कुराको स्वीकार पनि गरेको बताइएको छ ।

यो ब्यालेस्टिक क्षेप्यास्त्र अहिलेसम्मको सबैभन्दा लामो दुरीमा पुग्न सक्ने क्षमताको रहेको बताइएको छ । उत्तर कोरियाले पनि सो कुराको पुष्टी गरेको छ ।

अमेरिकाले यसलाई मध्यम दुरीको क्षेप्यास्त्र भनेको छ । उसले अमेरिका र प्यासिफिक क्षेत्रका लागि यो क्षेप्यास्त्र कुनै चुनौती बन्न नसक्ने पनि निष्कर्ष निकालेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र ३७ सय किलोमीटर टाढासम्म र ७७० किलोमीटर उचाइमा पुग्न सक्ने क्षमताको रहेको देखाएको उल्लेख गरेको छ ।

सुरक्षा परिषदको आकस्मिक बैठक

यसैबीच उत्तर कोरियाको आणविक परीक्षणका बारेमा आवश्यक छलफलका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शुक्रबारै आकस्मिक बैठक बोलाएको छ ।

न्युयोर्कबाट प्राप्त समाचारअनुसार सुरक्षा परिषदको बैठक शुक्रबार अबेर बोलाइएको छ । उक्त बैठकमा उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका बारेमा आवश्यक छलफल हुनेछ ।

यसै हप्तामात्र उक्त परिषदबाट उत्तर कोरियामाथि कडा खालको नाकाबन्दी लगाइएको थियो । अमेरिकी प्रस्तावमा लगाइएको सो नाकाबन्दीको उत्तर कोरियाले विरोध गरेको थियो ।

उत्तर कोरियाले शुक्रबार गरेको यो ब्यालेस्टिक परीक्षण पनि सोही नाकाबन्दीको विरुद्धमा केन्द्रित रहेको जनाएको छ । उत्तर कोरियाले आफूमाथि नाकाबन्दी लगाउने अमेरिका र उसका सहयोगी देशलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

दक्षिण कोरियामा आकस्मिक सुरक्षा बैठक

यसैबीच दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले शुक्रबारै राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउएका छन् ।

उनले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोले यसलबाट कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै सो बैठक बोलाएका हुन् ।

यहाँका राष्ट्रपतिको कार्यालय ब्ल्यू हाउसले दिएको जानकारीअनुसार उनले शुक्रबार अपराह्न सो बैठकको आह्वान गरे ।

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका कारण जापान र दक्षिण कोरियामा तनाव उत्पन्न भएको छ । यस अघि पनि १२ दिनअघि उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणका कारण ५.६ म्याग्निच्युडको कम्पन महसुस गरिएको बताइएको थियो ।

जापानद्वारा वार्ताका लागि आग्रह

त्यसैगरी जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियालाई यो आणविक परीक्षणको कार्यलाई तत्कालै रोकेर शान्ति वार्ताका लागि आग्रह गरेका छन् ।

साथै उनले यसका कार्यका विरुद्धमा विश्व समुदायको ऐक्यबद्धता आवश्यक रहेको बताए । उनले भन्नुभएको छ– उत्तर कोरियाको यो कार्यले विश्व शान्तिमाथि नै धावा बोलिरहेको छ, अब उसका विरुद्धमा एक हुनु जरुरी छ ।

उनले उत्तर कोरियाले यसरी नै हतियारको होडलाई जारी राख्ने हो भने यसबाट उसको भविश्य पनि राम्रो हुनेछैन भन्ने कुरा विश्व समुदायले नै जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए ।

जापानी प्रधानमन्त्री अबेले भने, “यी परीक्षणहरु शक्तिशाली छन् र यस्ता क्रियाकलापहरू जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।”

 

Loading...