चट्याङ प्रतिरोधी प्रविधि जडान

चौतारा, १४ असोज । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा जिल्लामा पहिलोपटक समुदायमा आधारित उक्त प्रविधि जडान गरिएको हो ।

स्थानीय मानबहादुर श्रेष्ठको घरमा जडान गरिएको उक्त प्रविधिको टावरमार्फत हावाको रेञ्जबाट २१४ मिटर गोलाइको वरिपरि सुरक्षित राख्न सक्ने क्षमता राख्दछ । त्यसबाट २७० घरधुरीका १३५० जनाका साथै घर पालुवा जनावरसमेत लाभान्वित हुनेछन् । यसका अतिरिक्त त्यहाँस्थित विद्यालय, सरकारी कार्यालय, प्रहरी चौकी, वडा कार्यालय तथा स्वास्थ्यचौकीसमेत सुरक्षित रहने बताइएको छ ।

जमीनमुनि १० फिट गहिरो तथा चार÷चार फिट चौडाइको खाडलमा केमिकल राखी बनाइएको उक्त प्रविधिको लागि स्थानीय जनसहभागितासहित रु तीन लाख लगानी भएको जनहितका प्रतिनिधि चिरञ्जीवी कट्टेलले जानकारी दिए । उक्त प्रविधि ९९ प्रतिशत सफल रहेको दाबी गरिएको छ । चट्याङबाट उक्त वडामा विगतका वर्षमा निकै ठूलो धनजनको क्षति भइसकेको छ । भूगर्भविद्का अनुसार सिन्धुपाल्चोक जिल्ला चट्याङ र पहिरोको उच्च जोखिममा पर्दछ ।

Loading...