काङ्ग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

काठमाडौँ २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको हो ।

अध्यक्ष जीतजङ्ग बस्नेतले विज्ञप्तिमार्फत पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएका थिए । लगत्तै महासचिव शाहीले पनि अर्को विज्ञप्ति जारी गर्दै तरुण दललाई अलोकतान्त्रिक ढङ्गबाट सञ्चालन गरेको र मुलुकका ठूला भ्रष्टाचार काण्डविरुद्ध नजरअन्दाज गरेको भन्दै अध्यक्ष बस्नेतलाई हटाएको घोषणा गरेका थिए ।

मातृ पार्टी काङ्ग्रेस ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा देशभर जुटिरहेका बेला प्रभावशाली भ्रातृ संस्था तरुण दल भने विवादको भुमरीमा फसेको छ । काङ्ग्रेसले यही भदौ २४ देखि आगामी असोज ७ गतेसम्म देशभर जागरण अभियान थालेको छ ।

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पन्चानब्बे सदस्यीय केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।

विसं २०१० कात्तिक १० गते तत्कालीन काङ्ग्रेस सभापति विश्वेश्वरप्रसाद कोइरालाको समन्वय र निर्देशनमा तरुण दल स्थापना भएको हो । तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए । त्यसपछि २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री विपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए ।

राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगन्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसपछि हालसम्म तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसकेका छन्।

Loading...