नेपाल रेडियोलोजीकल सोसाइटीको वार्षिकोत्सव सम्पन्न

पोखरा, २४ भदौ । रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीको राष्ट्रिय व्यावसायिक छाता संगठन नेपाल रेडियोलोजिकल सोसाइटीको २७ औँ वार्षिकोत्सव एक कार्यक्रमका बीच आज पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा रेडियोलोजी क्षेत्र अत्यन्त संवेदानशील भएको बताउँदै कार्यक्रममा सहभागीले उत्पादित जनशक्तिको उचित व्यवस्थापनका लागि राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले वार्षिकोत्सवको उद्घाटन गर्दै रेडियोग्राफी क्षेत्रका जनशक्तिलाई एकताबद्ध गर्दै यस क्षेत्रको व्यावसायिकता, गुणस्तर एवं हकहित प्रवद्र्धन गर्न सोसाइटी क्रियाशील बन्नु प्रशंसनीय भएको बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा नरेन्द्र विक्रम गुरुङले रेडियोलोजिकल तथा रेडियोग्राफी कार्यमा क्रियाशील जनशक्तिको उचित व्यवस्थापनलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

उक्त अवसरमा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झा, सचिव भीम थापा, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्य, कार्यक्रम संयोजक उदयकान्त तिवारीलगायतले रेडियोलोजी क्षेत्रमा विद्यमान जोखिम तथा सुरक्षाका उपाय सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।

सोसाइटीका केन्द्रीय सदस्य अनिल रेग्मीका अनुसार कार्यक्रममा ३०० रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीको सहभागिता थियो ।

Loading...