पौवाभञ्ज्याङमा पर्यटन सूचना केन्द्र

फिदिम, २८ भदौ । पर्यटकको सुविधाका लागि पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवाभञ्ज्याङमा पर्यटक सूचना केन्द्र निर्माण गरिएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन विकास समिति इलामले ४२ लाख लगानीमा निर्माण गरेको उक्त सूचना केन्द्र पर्यटन वर्ष–२०२० लाई लक्षित गरी सञ्चालनको तयारी गरिएको छ । समितिका योजना अधिकृत सञ्जीव पौडेलका अनुसार सूचना केन्द्र फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकासँगको सहकार्य सञ्चालन गर्न लागिएको हो ।

स्थानीय तहका जनप्रतिनिधि, सरोकारवालालगायतको सर्वपक्षीय बैठकले यथाशीघ्र सूचना केन्द्र सञ्चालनमा ल्याउन र साझेदारीमा सूचना केन्द्र सञ्चालन गरी पर्यटकलाई पर्यटकीय क्षेत्रबारेमा जानकारी दिन सक्षम कर्मचारी नियुक्त गर्न दुवै स्थानीय तहका पदाधिकारीले सहमति जनाएको छ ।

मेची राजमार्गमा पर्ने पर्यटकीय क्षेत्र पौवाभञ्ज्याङ तथा सोह्रौँ राष्ट्रिय विभूति फाल्गुनन्दको समाधिस्थल छेउमा उक्त सूचना केन्द्र निर्माण गरिएको हो । यहाँ पर्यटकीय क्षेत्रबारे जानकारी उपलब्ध गराउने सामग्रीसहित दिने निःशुल्क वाइफाइको सुविधा उपलब्ध छ ।

उक्त सूचना केन्द्रको सहायताले जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिइएको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङको भनाइ छ । मेची राजमार्गमा पर्ने यो सूचना केन्द्रबाट कञ्चनजङ्घा, कुम्भकर्णलगायत हिमालको पर्वतारोहण गर्ने पर्यटक, कञ्चनजङ्घा संरक्षण क्षेत्र, तिम्बु पोखरी, लब्रेकुटी–सिलौटी, प्रसिद्ध पाथीभरा मन्दिरलगायत धार्मिक एवं पर्यटकीयस्थलसम्म पुग्ने पर्यटक लाभान्वित हुनेछन् ।

Loading...