कञ्चनपुर, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ । प्रदेशका नौवटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश कमिटीले टुङ्गो लगाएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।
पार्टी प्रदेश कमिटी बैठकले नगरपालिका, गाउँपालिका र वडाका पदाधिकारी चयन गरेको हो । अध्यक्ष थापाले भने, “असोज १५ गते शपथ हुन्छ, सबै जिल्ला र तहगत कमिटीलाई कार्यालय र सचिवालय गठनको सकुर्लर जारी भइसकेको छ ।” जिल्ला, वडा, टोल, शाखा र सेल कमिटी कार्यालयमा रहने व्यक्तिको सङ्ख्या मापदण्ड बैठकले तय गरेको छ । कात्तिक पहिलोसाता स्थानीय तहका जनप्रतिनिधिलाई प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बैठकले निर्णय गरेको छ ।
साम्प्रदायिक विद्वेष फैलाउने र जनताको एकतालाई विखण्डन गर्ने किसिमका कुनै पनि कार्यमा पार्टीका कार्यकर्ता सङ्लग्न नहुन बैठकले निर्णय गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा एक अर्काप्रति सार्वजनिक रुपमा अमर्यादित, अस्वस्थ्य र तथ्यहित टीकाटिप्पणी गर्न निषेध गरिएको छ ।
विधिसम्मत कमिटीका निर्णय र सहमतिभन्दा छुट्टै कुनै समूहगत भेला तथा बैठक कसैले नगर्ने र त्यस्ता कार्य गरिएमा कारवाही हुनसक्ने अध्यक्ष थापाले बताए । उनले भने, “सबै तहका नेता, कार्यकर्ता र सदस्य एक भई सक्रियतासाथ पार्टीको कार्यमा अगाडि बढ्न आह्वान गरेका छौँ ।” बैठकमा भएका निर्णय शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।