संसदमा गणपूरक संख्या पुग्दैन अचेल । संख्या नपुग्दा २ पटक बैठक रोकियो

काठमाडौँ, २४ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक संख्या नपुगेपछि एकै दिनमा संसद् बैठक दुईपटक स्थगित भएको छ ।

सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव परित गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन गर्न निर्देशन दिएकी थिइन ।

तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्दासमेत गणपूरक संख्या सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् १४८ जना सांसद हुनुपर्नेमा संख्या १३६ मात्र भएपछि सभामुख घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेकी थिइन । संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा एक चौथाइ सदस्य संख्या अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक प्रावधान छ ।

त्यसपछि बसेको दोस्रो बैठकको शुरुमै पुनःसांसद सुवालले दोस्रो गणपूरक संख्याका बारेमा यकिन गर्न माग गर्दा सो बैठकमा १५७ सांसद उपस्थित देखिनुभएपछि बैठक सञ्चालन भएको थियो ।

त्यसपछिको सञ्चालन बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको थारु आयोग विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पारित गर्नेक्रममा सांसद प्रेम सुवालले पुनः तेस्रोपटक गणपूरक संख्या यकिन गर्न नियमापत्ति जनाएका थिए ।

त्यसपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्न निर्देशन दिएकी थिइन । संख्या गणना गर्दा १२७ मात्र सांसद संख्या यकिन भएपछि सभामुख घर्तीले पुनः दोस्रोपटक १५ मिनेटका लागि बैठक स्थगित गरेकी थिइन ।

दोस्रोपटक १५ मिनेटका लागि स्थगित बैठक बस्दै नबसी सूचना टाँस गरेर विशेष कारणबस भन्दै आगामी असोज ३ गते दिउँसो ३ः०० बजेसम्मका लागि स्थगित गरिएको छ ।

Loading...