१५ सहकर्मीसहित विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनबाट गर्यो गिरफ्तार

चितवन, २५ भदौ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन मेडिकल कलेजबाटै पक्राउ गरिएको हो ।

चितवन मेडिकल कलेजका विद्यार्थी रहेका चन्दलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । चितवन मेडिकल कलेजले अबैध शुल्क असुलेको भन्दै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेका विप्लव पुत्र प्रकाशसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सीएमसीले चर्को शुल्क असुलेको दावी गरेका विद्यार्थी र प्रहरीबीच केहीबेर कलेज परिसरमा झडप पनि भएको थियो । झडपका क्रममा केही विद्यार्थी घाइते पनि भएको बताइएको छ ।

विप्लव पुत्र प्रकाश चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक तथा प्रतिबन्धित नेकपाको स्वास्थ्य संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव पनि छन् । प्रकाशसहितको टोलीले निजी मेडिकल कलेजमा विद्यार्थीबाट चर्को शुल्क असुल गरिएको भन्दै त्यसका विरुद्ध राजधानीको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका थिए । 

Loading...