दुई भारतीयलाई गोली हानेको भन्दै दुई नेपाली पक्राउ

भीमदत्तनगर, २३ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोलीहानी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति भीमदत्तनगरबाट सीमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन सङ्घ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई युवालाई गड्डाचौकी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

गोली लागेका भारतीय नागरिक दुवैजना शारदा ब्यारेजका कर्मचारी रहेको बुझिएको छ । गोली हान्ने युवामा भीमदत्त नगरपालिका–९ मटेनाका १७ वर्षीय करनसिंह भण्डारी र २१ वर्षीय विक्रमनाथ रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिकाको जिमुवा क्षेत्रबाट गोली प्रहारमा प्रयोग गरिएको पेस्तोल र चक्कुसहित बरामद गरेको इप्रका गड्डाचौकीका प्रहरी नायब निरीक्षक रघुनाथ भण्डारीले जानकारी दिए ।

घाइतेलाई वनवासामा उपचारपछि बिहान जिप्रका कञ्चनपुर ल्याइएको छ । चौहानको पाखुरा र सिंहको पिठ्यूँमा गोली हानेर भण्डारी र नाथ मोटरसाइकलमा भागेका थिए ।

प्रहरीले लुटपाट गर्ने नियतले गोली हानेको हुन सक्ने अनुमान गर्दै घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।

Loading...