नेपाली साहित्यको बृहत् इतिहास विमोचित

ललितपुर, १३ भदौ । ‘जगदम्बा नेपाली साहित्यको बहत् इतिहास (दोस्रो ठेली) विमोचन भएको छ । मदन पुरस्कार पुस्तकालय, मदन पुरस्कार गुठी र यलमाया केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उक्त ठेलीको प्रा डा वासुदेव त्रिपाठीले विमोचन गरे ।

उक्त ठेलीमा चार पुस्तक डा चूडामणि बन्धुले सम्पादन गर्नुभएको ‘नेपाली लोकसाहित्य र विधागत अनुसन्धानको इतिहास’, डा दयाराम श्रेष्ठले लेखेको ‘प्रारम्भिक कालको नेपाली साहित्यको पूर्वपीठिका’, कमलमणि दीक्षित र डा नारायणप्रसाद गड्तौलाले सम्पादन गरेको ‘नेपाली साहित्यका माध्यमिक कालको इतिहास’ र साहित्यकार बलराम अधिकारीद्वारा रचित ‘नेपालमा अनुवादको इतिहास’ समेटिएका छन् ।

युवककवि मोतीराम भट्ट र नेपाली भाषाका साहित्य सेवक कमलमणि दीक्षितको जन्मजयन्ती एकैदिन कुशेऔँसीमा परेकाले सो ठेली यसै दिन विमोचन गरिएको प्रा डा माधवप्रसाद पोखरेलले जानकारी दिए । पोखरेलले भने, “यस ठेली पढेर यहाँ भएका गल्ती, कमजोरी र आलोचना गर्न अनुरोध गर्दछु, बिना कुनै आलोचना पुस्तकले गति लिन सक्दैन ।”

विसं २०७४ मा यसअघि चार पुस्तक समेटिएका पहिलो ठेली विमोचन भएको थियो । विगतमा विमोचन भएका ती पुस्तकमा ‘नेपाली भाषाको इतिहास’, ‘ब्याकरणको इतिहास’, ‘अभिलेखीय ब्याकरणको इतिहास’ र ‘अभिलेखीय शब्दकोषका इतिहास’ रहेका थिए ।

प्रा डा त्रिपाठीले नेपाली साहित्यको प्राथमिक र माध्यमिककाल कोर्ने व्यक्तिको रूपमा दीक्षितको नाम उल्लेखनीय रहेको चर्चा गरे । पत्रकार कुन्दा दीक्षितले विमोचित ठेलीले समग्र वाङ्मयलाई अघि बढ्न सहयोग गर्ने बताए । कार्यक्रममा आउँदो असोज ३ गते मदन पुरस्कार वितरण गरिने जानकारी दिइएको छ । दीक्षित रहँदा २५ वर्ष मोतीजयन्ती र उनको जन्मजयन्ती एकैसाथ काठमाडौँमा मनाउने गरिएको थियो । उक्त ठेलीको लेखन स्वदेश तथा विदेशमा रहेका ८४ व्यक्तिबाट भएको कार्यक्रममा बताइएको थियो ।

Loading...