एकचोटी घुमफिर गर्दा १० करोड डलर खर्च गर्ने विश्वका महङ्गा राजा

एजेन्सी । साउदी अरबका राजा सलमान यतिबेला विश्वमा निकै चर्चित छन् । उनी अरु कुनै विशेष क्षमताका कारण नभर्इ उनले घुमफिरमा गरेकाे ठूलाे खर्चका कारण चर्चामा अाएका हुन् ।

गत महिना मोरक्कोमा बिदा मनाउने क्रममा  गरेको फजुल खर्चका कारण राजा अहिले विश्वभर चर्चामा अाएका हुन् । विदा मनाउन जाँदा उनीसँगै लगिएका सामान, कर्मचारी, उनको आरामदायी जीवनशैली, खर्चालु सोखले उनी पछिल्लोपटक संसारभरका सञ्चारमाध्यममा चर्चामा छाएका छन् । एक महिनामा नै करोडौँ डलर उडाएकोमा  साउदी नागरिकले ८१ वर्षीय राजाको आलोचना गरेका छन् ।  खर्च गर्न सौखिन राजाले बिदा मनाउने क्रममा राष्ट्रको ढुकुटीबाट करोडाैं डलर झ्वाम पारेको यो पहिलोपटक भने होइन ।

हजार डफ्फाको साथ

बिदा मनाउन  राजाले उत्तर पश्चिम मोरक्कोको ट्यांगिर सहरलाई रोजेका थिए । उनीसँगै हजारजनाको विशाल डफ्फा थियो । उनीहरूका लागि  मोरक्कोका विभिन्न सुविधासम्पन्न होटेल १ महिनाअघिदेखि नै  बुक गरिएका थिए ।

१ महिना मोरक्को बसाइका क्रममा राजा स्वयं ७४ रोपनी जमिनमा फैलिएको विशाल दरबारमा बसेका थिए ।  अत्याधुनिक रेस्टुरेन्ट, स्विमिङ पुल, हेल्थ क्लब रहेको सो दरबारबाट समुद्रको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । इजरायलको हारेत पत्रिकाका अनुसार राजा र उनीसँग भ्रमणमा जाने व्यक्तिका लागि होटेलमा २ सय कारको व्यवस्था गरिएको थियो ।

राजाका लागि सो समर प्यालेस विगत ११ महिनादेखि पुनर्निर्माण गरिएको थियो । भ्रमणलाई मनन गर्दै राजा बस्ने दरबारमा हेलिप्यान्डलगायतको सुविधा थपिएका थिए । दरबारका विभिन्न कोठामा रंगरोगन गरिएको थियो । त्यस्तै झ्याल–ढोकामा नयाँ पर्दा र भुइँमा महँगा कार्पेट बिछ्याइएको थियो ।  

१५ सय मिटर अग्ला पर्खालले घेरिएको सो दरबारको हेरचाहका लागि ३० जना शाही सुरक्षाकर्मी खटिएका थिए  । राजा आउने भनिएपछि विशेष मेडिकल प्रबन्ध गरिएको थियो । दरबारमा तीनवटा हेलिप्याड र प्रशस्त भवन छन् ।

बाटोउटा विमानस्थलमा पुग्दा सलमानलाई मोरक्कोका राजा सादेददाइन ओथमननीले स्वागत गरेका थिए । पाँच खाडी मुलुकले कतारसँगको सम्बन्ध तोडिरहेको वेलामा राजा मोरक्कोको भ्रमण पूरा गरी गत साता स्वेदश फर्किएका थिए । राजाको एक महिनाको मोरक्को भ्रमणले मोरक्कोको कुल अर्थतन्त्रमा १ दशमलब ५ प्रतिशत योगदान पुगेको थियो ।

इन्डोनेसिया भ्रमण

साउदी सलमानले खर्चालु भ्रमण गरेको यो नै पहिलोपटक होइन ।  यसै वर्षको मार्चमा उनले इन्डोनेसियाको भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले लगेको ४५९ टन लगेजको निकै चर्चा भएको थियो । लगेजमा राजाका दुईवटा लिमोजिन कार र दुईवटा विद्युतीय इलिभेटर पनि थिए । राजाले लगेका सरसामग्रीको बन्दोबस्त गर्न मात्र ५७२ कामदार पनि उनीसँगै भ्रमणमा थिए ।  राजाको सो भ्रमण टोलीमा त्यहाँ १५ सयजना थिए  । उनीहरूमध्ये १० जना मन्त्री, २५ राजकुमार, १ सय सुरक्षा अधिकारी थिए ।

फ्रान्स भ्रमण

साउदी राजाले दुई वर्षअघि फ्रान्समा गरेको भ्रमण निकै विवादमा तानिएको थियो । सन् २०१५ मा साउदी राजाले दुई साता लामो फ्रान्स भ्रमण गरेका थिए । सो भ्रमणमा सयौँ क्विन्टन्ल लगेज लगेका थिए । उनको निजी भ्रमणमा एक हजार फ्रान्सेली सहभागी थिए । उनको गोपनीयता र सुरक्षाका लागि फ्रान्सको रिबेरा समुद्रीतट तीन दिनसम्म सर्वसाधारणका लागि बन्द गरिएको थियो । राजाका लागि समुद्री तटमा दुईवटा एलिवेटर राखिएको थियो । राजाको भ्रमणले सर्वसाधारणले सास्ती पाएको भन्दै केही फ्रान्सेलीले भ्रमणको विरोध गरेका थिए ।

इलिभेटर राख्ने क्रममा साउदी समूहले अनधिकृत रूपमा नदीको दोहन गरेको भन्दै स्थानीय मेयरले फ्रान्सेली राष्ट्रपतिसँग गुनासो गरेका थिए । सो भ्रमणमा पनि राजाले करोडौँ रकम झ्वाम पारेका थिए ।

साउदी राजाको अमेरिका भ्रमण पनि उत्तिकै विवादित बनेको थियो ।  सन् २०१५ को सेप्टेम्बरमा अमेरिकाको भ्रमण गर्दा उनले करोडौँ डलर राज्यकोषको रकम सिध्याएका थिए । राजाका लागि जर्जटाउनमा चारै मौसममा चल्ने २२२ वटा कोठा बुक गरिएको थयो  । राजाको भ्रमणलाई मनन गर्दै होटेलका हलमा रातो कार्पेट बिछ्याइनुका साथै सुनका ऐना र सुनकै फर्निचर सजाइएको थियो । राजासँगै सयौँ सहयोगी, मन्त्री र दर्जनौँ सुरक्षाकर्मी अमेरिका गएका थिए । 

Loading...