डोकलामबाट सेना फिर्ता गर्ने चीनसँग समझदारी भएको भारतको दावी

नयाँ दिल्ली, ११ भदौ । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरू फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ ।

महिनौँ लामो विवादपछि दुई देशबीचको कूटनीतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौँदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो ।

तर चीनले डोकलाम चिनियाँ भूमि भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, “हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिकस्तरमा छलफल जारी रहेको र कुराकानीका क्रममा हामीले एक आपसी हितका बारेमा छलफल गरेका छौँ । यसै समझदारीका आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रूत रूपमा हटाउने निर्णय गरेका छौँ र यस दिशामा काम अघि बढेको छ ।”

चीनले भने भारतीय सेना डोकलाम सिमानाबाट फिर्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय फौज डोकलाम सीमाक्षेत्रबाट फर्किएको बताएको छ ।

सीमा विवादलाई लिएर गत मे महिनादेखि भारत र चीनबीचको सम्बन्धमा तनावको वातावरण देखिएको थियो भने सीमा क्षेत्रमा दुवै देशका सेनालाई तयारी अवस्थामा राखिएको जनाइएको थियो ।

Loading...