सङ्घीय संरचनामा बदलियो नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरी केन्द्रिय संरचनाबाट सङ्घीय संरचनामा रूपान्तरण भएको छ । सङ्घीय संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी एकाइमा रूपान्तरण गरिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले पाँचवटा प्रदेशका क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय नभएको प्रदेश नम्बर २ र ५ मा नयाँ संरचना निर्माण भइरहेको जानकारी दिएका छन् ।

सङ्घीय प्रहरीको संरचना, ढाँचा, कार्यविधि, जनशक्ति, चेन अफ कमान्ड र भौतिक संरचना निर्माणका अतिरिक्त शान्तिसुरक्षाको विषयमा छलफल तथा आवश्यक अध्ययन गर्न सातवटै प्रदेशको कमान्डमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाइएको उनले बताए ।

सङ्घीय प्रहरी ऐन कार्यान्वयनमा नआइसकेकाले “सातवटै प्रदेशको शान्तिसुरक्षा लगायत विविध अवस्थाबारे बुझ्न सजिलो होस् भन्नका लागि प्रदेश कमान्डरका रूपमा एआईजी खटाइएको हो,” उनले भने, “ऐन लागू भएपछि संरचना पूर्ण रूपमा परिवर्तन हुनेछ । ”

यो सङ्क्रमणकालीन अवस्थाका लागि प्रदेश प्रहरी प्रमुखका रूपमा खटेका अतिरिक्त महानिरीक्षकहरू केन्द्रबाट सञ्चालित कमान्ड ९प्रहरी प्रधान कार्यालय०बाट निर्देशित हुनेछन् । सङ्घीय प्रहरी ऐन लागू नभएसम्म प्रदेशदेखि जिल्लासम्मका प्रहरीको परिचालन, खटनपाटन तथा कमान्ड भने पुरानै शैलीमा हुनेछ । प्रदेश प्रहरीले नै सङ्घीय प्रहरीको मुख्य कार्यालय (हेडक्वाटर) कहाँ राख्ने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।

सङ्घीय प्रहरीका लागि १९ हजार ३६९ नयाँ जनशक्ति माग भइरहेको जनाइएको छ । हाल नेपाल प्रहरीमा करिब ९३ हजार जनशक्ति रहेको छ ।

Loading...