विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा

काठमाडौँ, ११ भदौ । रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले चटक्कै छाडिसक्नुभएको भने छैन । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको घरका झ्याल–ढोकामा बुट्टा भरेको सम्झने लिम्बूमा कलाको सीपको हस्तान्तरण त्यति नै बेलादेखि भएको हुनुपर्छ ।

बीस वर्षदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी लिम्बू आफू पनि परिपक्वतातिर उन्मुख भइरहनुभएको छ । यसै मेसोमा उहाँ आजदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा उहाँ ‘समाहित’ शीर्षकमा अमूर्त कलाहरुको पोको लिएर आउनुभएको छ ।

काम गर्दै जाँदा उहाँ पहिले आफ्ना चिन्तनका सामग्रीहरु तयार गर्नुहुन्छ जुन अक्षर र खेस्रा चित्र दुवै हुन्छन् । कुन कुन रङ कहाँ कहाँ राख्ने, कसरी कलात्मक बनाउने जस्ता चिन्तन र मनभित्रका अन्तद्र्वन्द्व जस्ता विषय उहाँ कागजमा लेख्दै खेस्रा चित्र बनाउँदै जानुहुन्छ । तिनै प्राथमिक विचारलाई अक्षर र कलालाई खेस्राका रुपमा कोरिएका सामग्री पनि उहाँले जम्मा गर्नुभएको छ र प्रदर्शनी कक्षको ढोकैनिर राख्नुभएको छ ।

सानामा ५ इन्च × ८ इन्चदेखि ठूलामा १० फिट × ६ फिटसम्मका ती चित्रहरु स्वस्तिक चिह्नका रुपमा देखिन्छन् जुन मान्द्रामा एक चोया अर्कामा जेलिएका जस्ता देखिन्छन् । त्यसलाई लिम्बू विचार वा भावना तथा परिवेश एक अर्कामा ‘समाहित’ भएको बताउनुहुन्छ । एकले अर्कालाई चिन्न दुई जनाको भावना अर्कामा अन्तरघुलन वा समाहित हुनैपर्छ”, उहाँ भन्नुहुन्छ, “ शिव र पार्वती जब अर्धनारीश्वर हुनुमा यही टु इन वन सिद्धान्तले काम गरेको छ ।” रङमा काम गर्दै जाँदा विचारहरु आइरहने र विस्तारै अमूर्ततामा जाने गरेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै एउटा रङ अर्कामा प्रवेश गर्ने, एक परिवेशबाट अर्कामा जाने तथा दृश्यात्मकताबाट आवरणहीनतामा जाने काम स्वाभाविक रुपमा हुन्छ ।

‘सहज स्वीकार’, ‘स्वीकार’ र ‘समाहित’ शीर्षकका ती चित्रको मूल्य रु दुई हजार ५०० देखि रु तीन लाख २५ हजारसम्म छ । चित्रहरु कागजमा तैल रङमा बनाइएका छन् । हरियो, पहेँलो, कालो, सेतो, रातो, खरानी सबै रङमा काम गर्नुभएका लिम्बूले एक विचार वा परिवेश अर्काबाट फरक गराउन विरोधी रङहरुको प्रयोग गर्नुभएको छ । खरानी रङ चाहिँ साधुत्वको प्रतीक भएको उहाँको मान्यता छ ।

चित्रकारले ठूलो मात्र होइन सानो चित्र पनि बनाउन जान्नुपर्छ भन्ने धारणा उहाँको छ । “चित्रकारले सूक्ष्मतातिर पनि तरङ्गित हुन जान्नुपर्छ” उहाँले भन्नुभयो । सानामा अझ जीवन्तता पाइने उहाँको अनुभूति र अनुभव छ । साना चित्रहरु कोसेलीका रुपमा कसैलाई दिन सकिने उहाँ बताउनुहुन्छ ।

एउटा चित्र बनाउन उहाँलाई करिब तीन घण्टा लागेको छ र पूरा रङ सुक्न १५ दिन लाग्छ । हिन्दूधर्म, बौद्धदर्शन र ‘महाभारत’ तथा खप्तड स्वामी, जे कृष्णमूर्ति र ओशोका विचार विशेष अध्ययन गर्न मन पराउने ४२ वर्षीय लिम्बू देवकोटाको ‘कला र जीवन’ भन्ने लेखबाट निकै प्रभावित हुनुभएको छ । डिपी भण्डारीका लेख पनि उहाँ त्यत्तिकै मन पराउनुहुन्छ ।

“मलाई कलामा अघि बढ्न दर्शनको अध्ययनबाट निकै मद्दत मिलेको छ”, कलामा स्नातकोत्तर लिम्बूले भन्नुभयो । प्रदर्शनी यही भदौ १८ गतेसम्म चल्नेछ ।

Loading...