रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडाैं । इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका छन् । १४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बेला ३१–बर्षीय उहाँले इङल्याण्डका निम्ति कूल ५३ गोल गरी आफ्नो नाममा देशबाट सर्वाधिक गोलकर्ताको किर्तीमान बनाउन सफल भएका छन् ।

रुनीले आफूलाई इङल्याण्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर राष्ट्रिय टोलीमा पुनः बोलाएको भए पनि सन्यासको निर्णय लिएको बताए । साउथगेटले माल्टा र स्लोभाकियामा अर्को महिना हुने खेलमा रुनीको अनुपस्थिति अपेक्षा गरेका थिएनन ।

“प्रत्येक पटक राष्ट्रिय टोलीमा छनोट हुँदा मेरो निम्ति त्यो गरिमापूर्ण थियो । तर मलाई लाग्छ अब मैले छाड्ने बेला भयो,“ उनले भने । रुनी म्यानचेष्टर युनाइटेड क्लबका पूर्व कप्तान पनि हुन भने हालैमात्र उनले आफ्नो खेल आरम्भ गरेको फुटबल क्लबमा भित्रिएका थिए ।

इङ्ल्याण्डको निम्ति उनले पहिलो पटक सन् २००३ को फेब्रुअरीमा अष्ट्रेलियासँग खेलेका थिए । सन् २००४ को यूरो फुटबल उनले खेलेको पहिलो महत्वपूर्ण प्रतियोगिता थियो । इङल्याण्डका निम्ति उनको अन्तिम खेल भने कप्तानको रुपमा गत नोभेम्बरमा वेम्बले रंगशालामा स्कटल्याण्ड विरुद्धको खेल रह्यो । उक्त खेलमा इङल्याण्डले तीन गोलले स्कटल्याण्डलाई जितेको थियो ।

Loading...