विष्णु भुजेल बेल्जियमा आफ्नो परिवारसहित लामो समयदेखि बसिरहेका छन् । उनी जनप्रगतिशील माेर्चा युराेपका अध्यक्ष हुन् । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टी निकट रहेकाे माेर्चाका अध्यक्ष भुजेलसँग युराेपमा रहेका नेपालीहरु र युराेपमा समाजवादी अान्दाेलनकाे अवस्था बारे गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ ।
तपाई लामो समयदेखि युरोपमा हुनुहुन्छ, अहिले त्यहाँ मजदुरहरुको अवस्था कस्तो छ ?
पहिलो त्यहाँका मजदुरहरुमा समाजवादको दार्शनिक महत्वको अभाव रहेको देखिन्छ । त्यसकारणले उनीहरु कडा मेहनत गर्नु पर्दा पनि हाम्रो नियति नै यही हो, मजदुर र मालिक हुने कुरा वर्गीय समाजभित्र हुने स्वभाविक कुरा हो भन्ने जस्तो धारणा राख्छन् । यसैमा अलिकति सुधार र सुविधा बढाउन सके राम्रो हुने थियो भन्ने भावना प्राय मजदुरमा देख्न सकिन्छ । दोस्रो कडा शारिरीक श्रम गर्ने खालका मजदुरहरु प्राय सबै बाहिरी मुलुकहरुवाट खासगरी अफ्रिकी मुलुक, मोरोक्को, टर्कीलगायत देशबाट ल्याएर काममा लगाएको पाइन्छ ।
खासगरी युरोपले दोस्रो विश्व युद्धपछि चरम विकास गरेको छ । त्यही समयदेखिनै मजदुरको रुपमा बाहिरी मुलुकवाट आएका मजदुरहरु र उनीहरुका सन्तानहरुलाई अहिले पनि युरोपले देशको मुख्य धारमा आउन समेट्न सफल भएको देखिंदैन ।
युरोपमा पुँजीपति र मजदुरबीचको सम्वन्ध कस्तो छ ?
कामको हिसावले पुँजीपति र मजदुरवर्गबीच भावनात्मक रुपले सम्वन्ध हुने कुरा भएन । दोस्रो कुरा मालिकको चाहना मजदुरहरु मेशिनको रुपमा काम गरुन भन्ने हुन्छ । तदअनुरुप प्राय काम कम्युटरमा सेट गरिएको समय अनुरुप गर्न पर्ने हुन्छ ।
पुँजीको हिसाबले पुँजीपति र मजदुरबीच ठूलो अन्तर हुनु स्वभाविक नियम हो । चाखलाग्दो के छ युरोपमा सरकारले सामान्य आय भएका मजदुरहरुवाट कर लिने तर पुँजीपतिहरुले आफ्नो उद्योग र व्यवासयमा घाटा लाग्यो भनेको आधारमा अनुदान दिने उनीहरुलाई वढि संरक्षण दिने गर्छ । तर ठूला ठूला उद्योगहरु डिजल्व हुँदा मजदुरहरुको अवस्था भने निकै दयनीय हुने गरेको पाइन्छ ।
भनेपछि युरोपमा राज्यभन्दा नीजि क्षेत्र (व्यक्ति) हरु हाबी छन्, होइन त ?
पुँजीवादी व्यवस्थाको चरित्र नै राज्य र निजी क्षेत्रको गठजोडमा चल्ने न हो ।
मजदुरहरुमा यति धेरै आर्थिक र शारीरिक श्रम हुँदा पनि उनीहरुमा यो पँुजीवादी व्यवस्था ढालेर श्रमजीविहरुको व्यवस्था चाहिन्छ भनेर किन विद्रोहमा आउन नसकेका होलान् ?
युरोपमा खासगरी सोभियत समाजवादी सत्ताको स्थापना देखिनै समाजवादप्रति वितृष्णा जगाउने कामहरु भयो । समाजवादी सत्ताको विघटन पछि त उनीहरुले त्यसलाई समाजवादको असफलताको रुपमा ठूलो मात्रामा भ्रम छर्ने र अपव्याख्या गर्ने काम गरे । त्यसले गर्दा आम जनमानसमानै समाजवादी सत्ताप्रति धेरैहदसम्म भ्रम छर्न सफल भए ।
तर अहिले विस्तारै समाजवादी सत्ताका समर्थकहरु र वामपन्थी पार्टीहरु समाजवादी एजेण्डा सहित संघर्षमा देखिन थालेका छन् । उनीहरुले पुँजीवादी व्यवस्थामा आएको संकटको विकल्प समाजवादी व्यवस्था नै हो भन्ने प्रचारलाई वढाएका छन् । जसले गर्दा मजदुरहरुमा समाजवादी व्यवस्थाप्रति आकर्षण फैलिदो छ । तर अहिले नै त्यो संघर्ष सत्ता प्राप्त गरिहाल्ने अवस्थामा छैन । जेहोस् समाजवादप्रति राम्रो प्रभाव पर्दैछ युरोपमा ।
नेपाली मजदुरहरुको अवस्था के छ युरोपमा ?
युरोपमा ठ्याक्कै नेपाली मजदुरहरुको यकिन डाटा त छैन तर जुन देशमा भएपनि नेपालीहरु श्रम नै गर्छन । बेल्जियमा मात्र नेपालीहरु करिब ७, ८ हजार होलान् । वास्वतमा भन्ने हो भने हाम्रा आफ्नै प्रकारका समस्याहरु छन् । उनी(युरोपियन)हरु ले ८ घण्टा मात्र काम गर्छन् भने हामीलाई जति धेरै घण्टा काम गर्न पायो उति राम्रो भन्ने जस्तो हुन्छ । त्यो हाम्रो आफ्नै वाध्यता हो ।
हाम्रो बाध्यता भनेको आफने परिवारप्रति बढी जिम्मेबार हुनु पर्ने छ । हामी नेपालीहरु प्रााय कामदारको रुपमा छौं, सरकारी कर्मचारी तथा राजनैतिक प्रोफाइलमा पुग्ने अवस्थाको लागि अझै समय लाग्छ । केही साथीहरु व्यवसाय गर्छन् । तर त्यो शुरुवातको अवस्थामानै छ ।
नेपाली मजदुरहरु युरोपमा आफ्नो कामबाट सन्तुष्ट छन् त ?
हामी नेपालीहरुको मनोदशा कस्तो छ भने कि त विदेशमा काम गर्नु पर्यो, कि त देशलाई हेर्नु पर्यो । देशमा भरपर्दो रोजगार भएको भए यतिधेरै नेपाली विदेश जान बाध्य हुने थिएनन् । यो बाध्यताले पनि कडा र लामो समय श्रम गर्नु पर्ने हुन्छ ।
अनि युरोपमा रहेका नेपाली मजदुहरुले नेपालको राजनीतिलाई कसरी हेरिरहेका छन् ?
अहिले नेपालको प्राथामिक धार नै राजनीति देखिन्छ । प्राय सवै व्यक्ति कुनै न कुनै आस्था र विचारसँग जोडिएकै हुन्छन् । अनि त्यसको प्रभाव युरोपमा रहेका नेपाली युवाहरुमा पनि परेको देखिन्छ । युरोपमा बसेर हेर्दा युरोप यसरी विकसित भएको छ भने नेपाल किन नसकेको होला भनेर हामी चिन्तन मनन गर्छौ । नेपाल अझै पनि दुई सय वर्ष पछाडि छ । नेपालमा अझै पनि सामन्तवादको ठूलो प्रभाव छ तर युरोप त पुँजीवादको अन्तिम चरणमा छ ।
यसरी हेर्दा हामी युरोपमा रहेका धेरै नेपालीहरु जुन सकै पार्टीसँग सम्वन्धित भएपनि सबैले नेपालको विकास र परिवर्तन कसरी होला या त्यसको उत्तम बाटो के हुन सक्ला जस्ता प्रश्नमा हामी चिन्तन मनन गरिरहेका हुन्छौं । नेपालमा विकास र समृद्धि कसरी होला ? विकासको बाटो के हुन सक्ला ? जस्ता विषयमा हामी विभिन्न विचारमा आवद्ध भएता पनि सामुहिक रुपमा चिन्तन मनन गरिरहेका हुन्छौं ।
नेपालको माओवादी क्रान्तिकारी आन्दोलनलाई चाँहि युरोपमा रहेका नेपालीहरुले कसरी हेर्छन् ?
नेपालमा खासगरी जतिबेला जनयुद्ध चलिरहेको थियो, सन् २००० तिर हामीले जनप्रगतिशील मंच गठन गरेर नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई नैतिक रुपमा समर्थन जनाएका थियौं । हामीले यस्तो मंच बनाएपछि कांग्रेस र एमाले निकट रहेकाहरुले पनि आ–आफ्ना संगठन निर्माण गर्न पुगे । अहिले त सबै दल निकट मोर्चाहरु छन् ।
हाम्रो मान्यता के हो भने अहिले नेपालमा रहेको दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर आम नेपालीको हित गर्ने व्यवस्था ल्याउन संघर्ष गर्ने दललाई हाम्रो समर्थन हुन्छ । जनयुद्धकालमा हामीले जनयुद्धले उठाएका एजेण्डाहरुलाई सपोर्ट गरेका थियौं । जनयुद्धले वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय मुद्धाहरुलाई जसरी उठाएको थियो, ती मुद्धाहरु सबै हल हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो । त्यो मर्ममा हामीले नेपालको माओवादी जनयुद्धलाई सपोर्ट गरेका थियौं ।
हामीले कुनै पार्टी विशेष होइन उसले उठाएका एजेण्डालाई समर्थन गरेका थियौं र अहिले पनि त्यही मान्यतामा हामी छौं । हामी विश्वका कुनै पनि पार्टीले उठाउने न्यायपूर्ण एजेण्डालाई पनि सपोर्ट गर्ने गर्छौ । त्यही हिसाले हिजो जनयुद्धकालमा नेपालका माओवादी नेताहरु जेल पर्दा होस् वा उनीहरुमाथि भएको दमनको विरुद्ध हामीले संयुक्त राष्ट्रसंघ, विभिन्न कुटनीतिक नियोग, युरोपियन युनियन र अन्तर्राष्ट्रिय मानवअधिकार कार्यालयहरुका ढोका ढकढक्रयाएका थियौं । बेल्जियमले नेपाललाई हतियार बेच्दा हामीले बेल्जियमको सदन,अदालतदेखि सडकसम्म संघर्ष गरेका थियौं । माओवादी नेताहरुलाई भारत सरकारले जेल हाल्दा युरोपका वकिलहरु, मानवअधिकारवादीहरुलाई भारतसम्म पठाएर भारत सरकारको ध्यानाकर्षण गराउने काम समेत भएको थियो ।
तर पछिल्लो अवस्थामा माओवादी आन्दोलन विचलन, विभाजन र विघटनतिर गइसकेपछि हामीले माओवादी आन्दोलनमा रहेको क्रान्तिकारी धारलाई समर्थन गरेका छौं । जनप्रगतिशील मंचमा विभाजन आएपछि हामीले जनप्रगतिशील मोर्चा गठन गरेर नेपालको क्रान्तिकारी आन्दोलनलाई समर्थन गरेका छौं ।
अहिलेको सन्दर्भमा हामीले नेपालमा नेत्र विक्रम चन्द विप्लवद्धारा नेतृत्व गरिएको एकीकृत जनक्रान्तिलाई नैतिक रुपमा समर्थन गरेका छौं । त्यसलाई अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, समर्थन जुटाउने र त्यसको समर्थनमा युरोपमा रहेका नेपाली समुदायलाई संगठित गर्ने र अन्तर्राष्ट्रिय भाइचाराहरुसंग समन्वय गर्ने र समर्थन जुटाउने पनि हाम्रो काम बनेको छ ।
युरोपमा रहेका नेपालीहरुले नेपालको क्रान्तिकारी आन्दोलनको नेतृत्व गरिरहेका नेत्र विक्रम चन्द विप्लव र एकीकृत जनक्रान्तिलाई कसरी हेरिरहेका छन् ?
शुरु शुरुमा केही कन्फ्युजनहरु आएका थिए । हामी संगठनका साथीहरुलाई त्यस्तो कन्फ्युजन त थिएन । किनकि नेपालको सन्दर्भमा पहिल्यै बहस गरेको विषय वस्तु थियो । शान्तिप्रक्रियामा आउदा पार्टीको एउटा हिस्सा राजतन्त्रको अन्त्यपछि लोकतान्त्रिक गणतन्त्रमा जानेछ र त्यहां अड्किन सक्छ भनेर हामीले उतिबेलै शंका गरेका थियौं । एउटा सेक्सन संसदवादमा डुब्छ भनेर हामीलाई लागिसकेको थियो ।
जनयुद्धबाट आएका प्रचण्ड–बाबुरामले जुन स्केलमा धोका दिए, अब विप्लवजीले फेरि पनि धोका दिनुहुन्न भन्ने के ग्यारेन्टी छ भनेर केही साथीहरुले जिज्ञासाहरु राख्ने गरेका छन्, जुन स्वभाविक छ । तर अब यो बहस लोकतान्त्रिक गणतन्त्रमा होइन नयाँ जनवादी क्रान्तिलाई पूरा गरेर समाजवादी क्रान्तितिर जाने समयमा हुन्छ भनेर हामीले आश्वस्त पार्ने भरोसा दिलाउने प्रकृयामा हामी छौं । एकीकृत जनक्रान्ति यो दलाल तथा संसदवादमा फस्ला भनेर शंका गर्न पर्दैन । हामीले व्यक्ति हेरेर विप्लवलाई समर्थन गरेका छैनौं विचारलाई हेरेर गरेका छौं । भोलि व्यक्ति जे पनि हुन सक्छ तर हामीले सामुहिक विचार र संस्थालाई विकास गरेर जानुपर्छ भन्ने हाम्रो कुरा छ ।
युरोपमा रहेका वामपन्थी कम्युनिस्ट पार्टीहरुले नेपालको क्रान्तिकारी आन्दोलनलाई कसरी हेर्छन् ?
जनयुद्धमा छदा माओवादी आन्दोलनलाई जुन आशाको नजरले युरोपमा रहेका वामपन्थी र कम्युनिस्ट पार्टीहरुले हेर्थे अहिले त्यो छैन । प्रचण्ड–बाबुरामले नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाए भनेर उनीहरुले संश्लेषण गरेको अवस्था छ । अहिले उनीहरु समाजवादमा जानका लागि संघर्ष गर्नुपर्छ भनेर आन्दोलनलाई नया शिराबाट लान खोज्दैछन् ।
अनि अहिले विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले कसरी आन्दोलनलाई अगाडि बढाउछन्, त्योबारे उनीहरु नयाँ ढंगले अध्ययन गर्दैछन् ।
समग्रमा युरोपमा लेफ्ट मुभमेन्ट कसरी अगाडि बढिरहेको छ ?
लेफ्ट मुभमेन्टको कुरा गर्दा युरोपमा बेल्जियम नै अगाडि छ । बेल्जियम वर्कस पार्टीको रुपमा यहाको कम्युनिस्ट पार्टी सक्रिय छ । जर्मनीमा माक्र्ससिस्ट लेनिनिस्ट पार्टी सक्रिय छ । प्राय सवै देशमा वामपन्थी पार्टीहरु छन् । तर अव यही संकटग्रस्त पँुजीवादमा अल्मलिने की समाजवादी आन्दोलनको विकास गर्ने भन्ने कुरामा यहांका वामपन्थी पार्टीहरुको वहस देखिन्छ । तर हालैका दिनमा देखिएको पुँजीवादको संकटले समाजवादी आन्दोलन अपरिहार्य रहेछ भन्ने बुझाइका साथ संगठन निर्माण र संघर्षको उठानमा लागेका छन, यो एउटा सकारात्मक पक्ष हो ।
अनि युरोपमा कम्युनिस्ट पार्टीको भविष्य तपाईले कस्तो देख्नुहुन्छ ?
युरोपभरि समग्रमा वामपन्थी पार्टीको नेतृतवमा केन्द्रिकृत आन्दोलन गर्ने अवस्थानै त तत्कालै देखिंदैन तर क्रान्तिका लागि वस्तुगत परिस्थिति नजिकिदै गाको छ र आत्मगत स्थिति पनि तयार हुँदैछ ।
युरोपमा मजदुरहरु मेशिनजस्तै जोतिएर काम गर्नुपर्छ । यस्तोबेला त्यहा कसरी र कस्तो किसिमको क्रान्ति र आन्दोलन हुन सक्ला ?
युरोपको आर्थिक अवस्था, त्यहाँको उत्पादन सम्वन्ध सबै हिसाले निकै माथि छ । त्यहां आन्दोलन गर्नु पर्यो भने धेरै लामो गर्नुपर्दैन । किनकि त्यहाको सामाजिक चेतना र मनोविज्ञान निकै माथिबाट विकसित भएको छ ।
युरोपमा अब नयाँ नेतृत्व आउने आशा गर्न सकिन्छ ?
समग्रमा भन्दा युरोपमा समाजवादी आन्दोलन अब नयाँ शिराबाट आउने निश्चित छ । त्यो बाहेक अर्को विकल्प छैन ।