संसदीय व्यवस्थामा आएवापत कांग्रेसले बक्सिस स्वरुप भरतपुरमा मेयर दिएको विप्लवको टिप्पणी

काठमाडौं, २५ साउन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्र र कांग्रेसबीच सत्ता र चुनाव प्रयोजनका लागि गरिएको गठबन्धनलाई इतिहासकै खराब गठबन्धन भएको बताएका छन् ।

विचारधारात्मक रुपमा राजनीतिक पार्टीहरुबीच हुने गठनबन्धनमध्ये माके–कांग्रेस गठबन्धन अहिलेसम्मकै खराब भएको बताए । गठबन्धनलाई विभिन्न कालखण्डमा विश्व इतिहासमा भएका च्याङकाईसेक र चाङक्वोथाओ, जर्मन सरकार र सिदेमान, फ्रेन्च सरकार र मिलेराबीचको गठबन्धनको संज्ञा दिए । साथै उनले प्रचण्डले जनयुद्धलार्इ त्यागेर संसदीय व्यवस्थामा अाएवापत नेपाली कांग्रेसले अहिले भरतपुरमा मेयरका उपहार दिएकाे टिप्पणी गरे ।

चितवनको भरतपुरमा बुधबार सम्पन्न तीन दिने केन्द्रीय प्रशिक्षण कार्यक्रमका अध्यक्ष समेत रहेका महासचिव विप्लवले भारत र चीन, रुस र अमेरिकाबीचको अन्तरविरोध अर्थपूर्ण भएको बताउँदै विकल्पमा वैज्ञानिक समाजवादको औचित्य बढ्दै गएको बताए ।

प्रशिक्षणमा अबको लडाईको केन्द्रविन्दु दलाल संशोधनवाद, संसदवाद र अवसरवादविरुद्ध हुने भएकाले क्रान्तिको लागि अनुकुल वातावरण बन्दै गइरहेको भन्दै क्रान्तिमा होमिनुको विकल्प नरहेको बताए ।

प्रशिक्षणमा नेकपाका स्थायी समिति सदस्य एवं आर्थिक विभाग प्रमुख खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रचण्ड–देउवा सरकारले चुनावरुपी प्रतिक्रान्ति गरेको बताए । चुनाव खारेजी अभियानले नेपालको वर्गसंघर्ष एक तह माथि उठेको विश्लेषण गर्दै संसदीय व्यवस्थाले लाद्ने सबैखाले चुनाव खारेज गरेर जानु अनिवार्य रहेको बताए ।

यस्तै अर्का स्थायी समिति सदस्य एवं स्कूलिङ विभाग प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले क्रान्तिको लागि वैचारिक प्रतिबद्धताले मात्र नपुग्ने र दर्शनमा विकास गर्नुपर्ने बताए । संगठनमा शुद्धिकरण, सुदृढिकरण, सांस्कृतिक रुपान्तरण र कार्यशैली सुधार गर्नु अहिलेको मुख्य दायित्व रहेको बताए । क्रान्तिका लागि पार्टीले विश्व दृष्टिकोण आउने समस्या हल गर्नुपर्नेमा जोड दिए ।

स्थायी समित सदस्य सन्तोष बुढामगर, सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, सचिव चित्रबहादुर आले ‘पवन’, पोलिट ब्यूरो सदस्य अनिल शर्मा ‘विरही’लगायतका केन्द्रीय नेताहरु सहभागी थिए ।

प्रशिक्षणमा जिल्ला, विभिन्न विभाग र जनवर्गीय संगठन गरी अठासी जना प्रतिनिधिहरुले क्षेत्रगत रिपोर्ट प्रस्तुत गरेका थिए । प्रशिक्षणमा देशभरिबाट जिल्ला र क्षेत्रीय स्तरका ३ सय बढी नेता-कार्यकर्ताको सहभागिता थियो ।

Loading...