भावुक हुँदै नेयमारले वार्साका साथीहरुसँग विदा मागे । मेसी भए भावुक

एजेन्सी । ब्राजिलियन फरवार्ड नेमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध हुने बाटो खुलेको छ । बुधबार बार्सिलोनाको प्रशिक्षण शिविरमा केहीबेर बिताएका नेमारलाई पिएसजीमा जान बार्सिलोनाले स्वीकृति दिएको हो । पिएसजीले नेमारलाई विश्वकीर्तिमानी रकम १९ करोड ६० लाख पाउन्डको प्रस्ताव गरेको छ ।

साथीसँग बिदा मागे
आफ्ना दुई ब्राजिलियन साथीसँगै नेमारले ४३ मिनेट बार्सिलोनाको प्रशिक्षण क्याम्पमा बिताएका थिए । नेमारले प्रशिक्षणमा भने भाग लिएनन् । उनले बार्सिलोनाका सहकर्मीसँग अन्तिम बिदाइ माग्दै पेरिसतिर लागेका छन् । पिएसजीसँग विभिन्न चरणमा कुरा अघि बढाएका नेमारले यही साता सम्झौता गर्ने उनका पूर्वएजेन्ट वाग्न रिबेरिओले दाबी गरेका छन् । बार्सिलोनाका सिनियर खेलाडी जेरार्ड पिके र आन्द्रेस इनिस्टाले नेमारलाई बार्सिलोनामै राख्न अन्तिमसम्म प्रयास गरेका थिए । बार्सिलोनामा अर्जेन्टिनाका लियोन मेसी, उरुग्वेका लुइस सुआरेज र नेमारबीच राम्रो तालमेल थियो । तीनजनालाई छोटकारीमा एमएसएनले समेत चिनिन्थ्यो । दुई खेलाडीको छायामा परेका नेमारले पेरिस जाने निर्णय लिएका हुन् । यसअघि नेमारले सामाजिक सञ्जालमा पनि पेरिस जान लागेको संकेत गरेका थिए । नेमारले लेखेका छन्, ‘पेरिस सुन्दर सहर, आइफल टावर, वाइन, ग्रास्टोनोमी र फुटबल ।’

मेसी भए भावुक

नेमारले बार्सिलोना छाड्दा सबैभन्दा दुःखी मेसी बनेका छन् । छोटो समयमै मिल्ने साथी नेमारले बार्सिलोना त्याग्दा आफूलाई दुःख लागेको मेसीले ट्विटरमा पोस्ट गरेका छन् । ‘यो भावुक र दुःखी हुने समय हो, नेमारसँग जति दिन बार्सिलोनामा बिताएँ, त्यो सबै स्मरणीय रहनेछ,’ मेसीले भने, ‘मलाई आशा छ, नेमारको नयाँ भविष्य राम्रो हुनेछ, नेमार म तिमीलाई अति नै माया गर्छु ।’

६ वर्षको सम्झौता हुने
नेमार र पिएसजीबीच ६ वर्षको सम्झौता हुने बताइएको छ । पिएसजीले नेमारलाई साताको ५ लाख पाउन्ड पारिश्रमिक दिने पनि प्रस्ताव गरेको छ । नेमार यसअघि सन् २०१३ मा ४ करोड ६० मिलियन पाउन्डमा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनमा आबद्ध भएका थिए । अघिल्लो वर्ष मात्र नेमारले बार्सिलोनासँगको सम्झौता पाँच वर्ष लम्ब्याएका थिए । पेरिसतर्फ जान लागेका नेमारले बार्सिलोनामा आबद्ध रकम भने विवाद बनेको थियो । आबद्ध रकम लुकाएको भन्दै नेमारले स्पेनमा दुईवटा मुद्दा खेपिरहेका छन् । नेमारलाई गत वर्ष दुई वर्ष जेल जानुपर्ने माग गर्दै मुद्दा दायर गरिएको थियो । बार्सिलोनामा आबद्ध हुँदा भ्रष्टाचार गरेको दाबीसहित १ करोड ६ लाख डलर जरिवाना गर्नुपर्ने मागसहित स्पेनिस अदालतमा मुद्दा दर्ता गरिएको थियो । यस्तै, नेमार तथा उनका पितालाई पाँच वर्ष जेल, बार्सिलोनाका पूर्वअध्यक्ष रसेललाई आठ वर्ष जेल माग गर्दै अर्काे मुद्दा पनि चलिरहेको छ ।

चार सिजनमा १ सय ५ गोल
बार्सिलोनामा चार सिजन बिताएका नेमारले १ सय ५ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि १ सय ८६ खेल खेले । ला लिगामा नेमारले पछिल्ला तीन सिजनमा दोहोरो अंकमा गोल गर्न सफल भए । पहिलो सिजन ला लिगाको २६ खेलमा मैदान उत्रिएका नेमारले ९ गोल गरे ।
त्यसपछिका तीन सिजनमा नेमारले क्रमशः २२, २४ र १३ गोल गर्न सफल भए । सन् २००९ मा सान्तोसमा डेब्यु गरेका नेमारले पाँच सिजनमा २ सय २५ खेल खेलेर १ सय ३६ गोल गरेका थिए । ब्राजिलको राष्ट्रिय टोलीमा नेमारले सन् २०१० मा डेब्यु गरेका थिए । सात वर्षको अवधिमा ७७ क्याप जितेका नेमारले ५२ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

 

Loading...