गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ–सांसद महेश बस्नेत


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताए । गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको भन्दै जग्गा हडप्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएको छ भने पनि सरकारले तत्काल कब्जामा लिनुपर्छ ।’

गुठीको जग्गा जोगाउन सरकार आक्रामक रुपमा प्रस्तुत भएको भन्दै गुठीको जग्गा हडपेर बनाइएको छायाँ सेन्टर समेत कब्जामा लिनुपर्ने बताए । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै पूर्व उद्योग मंत्री समेत रहेका बस्नेतले भने, ‘छायाँ सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ ।’

काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने उनले बताए । फरक तरिकाले गुठीको समस्या सुल्झाउनुपर्नेमा उनले जोड दिए । सरकारले गुठीबारे उठेको मागको यथोचित् सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो । गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउने विधेयक विगतमा नेपाली काँग्रेसले ल्याएको भन्दै अहिले गुठीको पक्षमा काँग्रेस देखिनु लाजमर्दो भएको उनले जिकिर गरे । उनले भने,‘हिजो गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउनेहरु आज गुठीको संरक्षक बन्न खोजेका छन् ।’

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले सरकार भूमाफियाबाट प्रभावित भएर गुठी विधेयक ल्याएको आरोप लगाए । गुठीको जग्गा कब्जामा लिन चलखेल भइआएकोमा सरकार सहयोगी बनेको बताए । सरकारले तत्काल गुठी विधेयक फिर्ता नलिए गम्भीर अवस्था आउने बताए । उनले भने,‘भूमाफियालाई फाइदा पुग्ने विधेयक तत्काल फिर्ता लिएमा सरकारको कल्याण हुन्छ ।’

गुठीको मूल मर्ममाथि प्रहार भएको बताए । गुठी विधेयकले काठमाडौं भित्र मात्र नभई बाहिर पनि प्रभाव पारेको बताए । गुठी संस्कृतिसँग जोडिएकाले सरकारले त्यसविरुद्ध गतिविधि चलाएको आरोप लगाए । नेपाली काँग्रेसले गुठी विधेयकविरुद्धको आन्दोलनको सभर्थन गरेको भन्दै जनताभन्दा माथि कोही हुन खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने बताए । उनले भने,‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो ।’ हजारौं वर्ष देखि चलिआएको संस्कृति माँस्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडकमा उत्रिएको बताए । नेपालको इतिहासमा गैर राजनीतिक मुद्यामा यति ठूलो आन्दोलन नउठेको भन्दै गुठीसम्बन्धि विधेयक जनविरोधी भएकाले जनता उठेको बताए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बज्राचार्यले अहिलेको विधेयक खिचडी भएको बताए । सरकारले जनताको चित्त दुखाएको बताए । भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने भन्दै त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । सांस्कृतिक सम्पदाको रक्षा र सम्वद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

Loading...