गुठी विधेयक फिर्ता, सबैको कुरा सुन्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं, ३ असार । विवादित बनेको गुठी सम्बन्धी विधेयक सरकारले फिर्ता गरेको छ । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको हो ।

वैशाख १५ मा दर्ता भएको यो विधेयकले गुठी मास्ने प्रयत्न गरेको भन्दै चौतर्फी विरोध भएपछि विधेयक फिर्ता लिन सरकार बाध्य भएको हो । संसदमा विधेयक दर्ता गराएकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको बताएकी छिन । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले विधेयकलाई फिर्ता लिइएको बताइन ।

 गुठी विधेयक फिर्ता गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सबैको कुरा सुन्न तयार रहेको र आवेग र उत्तेजनामा नआउन आग्रह गरेका छन ।  ”यो सरकार जनताले चुनेको सरकार हो त्यस कारण जनतामा केही असन्तुष्टि छ भने सरकार छलफल गर्न तयार छ ।” प्रधानमन्त्री ओलीले भने ।

विधेयकको विषयमा विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएको र सरोकारवाला पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी गराइएको छ ।

Loading...