साउनदेखि जन्मने प्रत्येक छोरीलाई मासिक पैसा दिने तुलसीपुरको तयारी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक छोरीलाई मासिक रु १सयका दरले दिने नयाँ कार्यक्रम ल्याएको छ । साउनदेखि नगर भित्र जन्मेका प्रत्येक छोरीले उक्त रकम पाउने भएका छन ।

आर्थिक वर्षदेखि लागू हुने ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारी’ कार्यक्रम अन्तर्गत उक्त योजना ल्याइएको हो । यस अन्तर्गत प्रत्येक छोरीलाई जन्मेको दिनदेखि मासिक रु १सयका दरले वार्षिकरूपमा एकमुष्ट रु १ हजार २ सय उपलब्ध गराउने नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । छोरीलाई दिइएको उक्त रकम बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि एकमुष्टरूपमा उपलब्ध गराइने उनले बताए ।

यदि २० वर्ष उमेर नपुगी छोरीको बिबाह गराएमा उक्त रकम नपाइने नगरपालिकाको नीति रहेको छ । यसले बालविवाहको अन्त्यका लागि प्रभावकारी भूमिका खेल्ने नगर प्रमुख पाण्डेले बिस्वाश व्यक्त गरे ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि विवाह गरे भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने बताइएको छ । बालविवाह न्यूनीकरण र छोरीलाई आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत यो अवधारणा ल्याइएको हो ।

Loading...