राजु पनेरुद्वारा एनआरएनए जापानको सदस्य पदका लागि उम्मेद्बारी घोषणा

नेपालमा गोरखा घर भई हाल जापानमा बस्दै आएका राजु पनेरुले गैरआवासीय नेपाली संघ जापानको आसन्न चुनावका लागी सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन ।

उम्मेद्वारी घोषणा गर्ने लहर चलिरहेका बेला पनेरुले १३ बुँदे प्रतिवद्धता जारी गर्दै जापानवासी नेपालीलाई सदस्य पदमा आफुलाई मतदान गरी विजयी बनाईदिन अपिल गरेका छन ।

पनेरुले आफ्नो प्रतिवद्धतामा जापानमा सिकेको ज्ञान र सिपलाई नेपाल भित्र्याउने देखी नेपाली सामानलाई जापान आयातमा बृद्धि गर्ने सम्मका योजना पेश गरेका छन । प्रतिबद्धता पत्रमा उनले भनेका छन–‘नेपालमा जापान आयात हुने सामाग्रीमा बृद्धि गरी नेपालको आर्थिक विकासमा टेवा पुर्याउन पहल गर्नेछु ।’

सदस्य पदका उम्मेद्वार पनेरुले जापानमा बस्दै आएका नेपालीहरु बिरामी भएमा जस्तोसुकै उपचार पनि एनआरएनले गर्ने व्यवस्था मिलाउन पहल गर्ने जनाएका छन । त्यसका लागी उनले योजनाको खाका समेत संक्षेपमा बताएका छन ।

प्रतिवद्धतामा पनेरुले जापानमा नेपालीहरुले गर्दै आएको व्यवसायीक एकरुपतालाई बिबिधिकरण गर्ने देखी जापानमै जन्मे हुर्केका नेपाली बालबालीकालाई नेपाली भाषा र संस्कृति सिकाउने सम्मका योजना प्रस्तुत गरेका छन ।

यस्तो छ एनआरएन जापानको सदस्यका उम्मेद्वार राजु पनेरुको प्रतिवद्धता पत्रः

जापानमा नेपालको विभिन्न ठाउँबाट आई बसोबास गरिरहनुभएका सम्पूर्ण जापानबासी बुबा–आमा, दाजु–भाई तथा दिदि–बहिनीहरुमा प्रथमत म राजु पनेरू (एनआरएनए जापानको सदस्य पदको उमेदवार)को नमस्कार ।

प्रवासमा बस्दाखेरीको पिडा हामी सबै प्रवासीहरूले विभिन्न कालखण्डमा कुनै न कुनै रुपमा भोग्दै नै आइरहेका छौं । यसै सन्दर्भमा एनआरएनए स्थापना पुर्व तथा स्थापना पश्चात जापानमा बसोबास गरिरहनुभएका प्रवासी नेपालीहरूको हक अधिकारका लागि संघर्षरत सँगै नेपाली–नेपाली बिच एक अर्कालाई सहयोग गर्न प्रतिबद्ध आदरणीय अग्रजहरू प्रति हृदय देखि नै नमन गर्दछु ।

मलाई लाग्छ, यो मेरो उमेदवारी मेरो मात्र चाहना नभै समयको पनि माग हो । एनआरएनए जापान सँगको निरन्तरताको सम्बन्धलाई अँझ प्रगाढ बनाउन र एनआरएनए जापानलाई अँझ मजबुद बनाउनको लागि पनि मेरो उमेदवारी आवश्यक सम्झेको छु । तसर्थ, मैले एनआरएनए जापानको सदस्य पदमा रहेर पहल गर्न सक्ने कामहरूलाई १३ बुँदामा यसरी प्रस्तुत गरेको छु ।

१. गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको मुल उद्देश्य नै सम्पन्न नेपाल बनाउने भएको सबैलाई अबगत नै छ । मेरो तर्फबाट ज्ञान र सिप भित्र्याउन बिशेष जोड रहने छ ।

२. हाल जापानमा एउटै क्षेत्रमा ब्यबसायिक प्रतिस्पर्धा बढिरहेकोले त्यस क्षेत्रमा मात्र नभई अब नयाँ–नयाँ ब्यबसाय गर्नको लागि सरसहयोग र काउन्सिलिङ्ग बढाउने सोच लिएको छु ।

३. नेपालबाट आयात गरेका सामानहरु जस्तै चिया, कफी, गार्मेन्ट लगायत अन्य सामानहरु बिक्री र प्रबर्धन गर्ने खालको ब्यबसाय गर्न चाहनेलाई एनआरएनएको तर्फबाट बिशेष लगानीको बातावरण बनाउने र प्रबद्र्धनमा पनि सहयोग गर्न सकिने देखेको छु । जसले गर्दा देशको आम्दानी बढेर देश सम्पन्न बन्नमा हामि बिदेशमा बस्ने नेपालीहरुको बिशेष योगदान हुन जाने छ ।

४. हरेक नेपालीको लागी जस्तो सुकै आर्थिक सहयोग गरेर भए पनि उपचार गर्ने खर्च एनआरएनएले जुटाउने बातावरण बनाउने पहल गर्नेछु । जसको लागि जापानमा भएका नेपालीहरुकै सहयोगमा सम्भव छ । ७० हजार नेपाली छन, जसबाट बिशेष मेम्बर बनाएर महिनाको १ सय अर्थात बर्षको १२ सय जम्मा गर्न कुनै गारो छैन र त्यो काम ममा गरेर देखाउने हिम्मत छ ।

५. बिधार्थी भाईबहिनीहरुलाई राम्रो गाइडेन्स दिएर अगाडी बढाउन सकियो भने हरेक नेपालीको शिर उँचो हुने गरि राम्रो–राम्रो काम गरेर देखाउन सक्ने धेरै छन । जुन नेपालीले राम्रो काम गरे पनि हाम्रो ईज्जत बढ्दै जान्छ र बिदेशको ठाउँमा नेपाली भनेर छाती फुलाएर हिड्न सक्ने बाताबरण बन्ने छ ।

६. गैर आवासिय नेपाली समाजका बालबालिकामा नेपाली भाषा तथा संस्कृति प्रतिको ज्ञानमा भएको कमीकमजोरीलाई मध्येनजर गर्दै एनआरएनए जापानको पहलमा नेपाली भाषा तथा संस्कृति सिकाउने कक्षा संचालन गर्न पहल गर्ने ।

७. नेपालमा भएको तथा भबिष्यमा हुनसक्ने प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै एनआरएनए जापानले अघि सारेको आकष्मिक राहत कोषलाई अझ मजबुत बनाउन पहल गर्नेछु ।

८. नेपाली नेपाली बिचको भातृत्व, मैत्री, सहयोग तथा सदभावलाई अझ बढी प्रगाढ बनाउन अन्य मुलुकका एनआरएनएहरूसँग सम्पर्क बढाउन समन्वय गर्ने ।

९. कला साहित्य, संस्कृति तथा खेलकुद प्रति नयाँ तथा युवापुस्ताको अभिरूची बढाउन र तिनको प्रबद्र्धन गर्न बिशेष कार्यक्रम ल्याउन पहल गर्ने ।
१०. जापानको नेपाली समुदायमा दिनानुदिन बढेको आत्महत्या न्यूनिकरणको लागी सम्बन्धित क्षेत्रका विज्ञहरूसँगको समन्वयमा बिभिन्न कार्यक्रमहरू संचालन गर्न पहल गर्नेछ ।

११. जापानमा क्रियासिल सबै संघ संस्थाहरूसंग समन्वय गरि एनआरएनए प्रति सबैको अभिरूचि बढाउने खालका बिबिध कार्यक्रमहरू संचालन गर्न पहल गर्नेछु ।

१२. जापान र नेपाल दुबै मुलुकको नागरिकता सम्बन्धी ऐनका कारण जापानका नागरिकता लिई सकेका नेपालीहरु खुलेर बोल्न नसक्ने अबस्था रहेकोले दोहोरो नागरिकता वा एनआरएनए परिचयपत्रको बितरण र प्रभावकारी प्रयोगको निमित्त लागी पर्नेछु ।

१३. कार्यसमितिका सम्पूर्ण कार्य तथा निर्णयहरू पारदर्शी किसिमबाट संचालन गर्न पहल गर्नेछु ।

माथि उल्लेखित उद्देश्य पृष्ठभूमि र यसभन्दा अघि बिभिन्न सामाजिक संस्थाहरूमा काम गरेको हैसियतले मैले निर्बाह गरेको भूमिकालाई उचित मुल्यांकन गरिदिनुहुनेछ भन्ने पूर्ण आशा गर्दै सदस्य पदको हैसियतले संस्थामा अझ बढी योगदान दिन सकियोस भनेर मैले दिएको उमेदवारीमा यहाँहरूले अमुल्य मत दिई अत्यधिक मतका साथ विजयी गराउनुहुनेछ भन्ने दृढ बिश्वास लिएको छु । जय एनआरएनए

राजु पनेरू
सदस्य पदको उमेदवार
(एनआरएनए जापान, २०१७–२०१९)

Loading...