बिहे भोजमा विषाक्त खानाले ४२ जना विरामी

सिन्धुपाल्चोक, २७ जेठ । बिहे भोजको विषाक्त खानाले बलेफी गाउँपालिका ५ मूलाबारी गाउँमा ४२ जनामा एकैसाथ झाडापखाला महामारी फैलिएको छ ।

१८ वर्षीया सुशीला भुजेल, २३ वर्षीया संगीता भुजेल र ३४ वर्षीया विमला कार्कीको अवस्था गम्भीर भएपछि राजधानीस्थित शिक्षण अस्पताल लगिएको छ । गत बिहीबार बिहे भोज खाएका जन्ती धमाधम बिरामी पर्न थालेपछि गाउँमा आतंक मच्चिएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले बताए ।

‘भोलिपल्टै महामारीका रूपमा फैलिएपछि स्वास्थ्य चिकत्सकको टोली खटायौँ, उनले भने, ‘त्यसपछि समस्यामा केही कमी आएको छ ।’

बिरामीमा ‘फुड प्वाइजन’ को समस्या देखिएको जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले जानकारी दिइन् । विषाक्त खानाकै कारण बिरामीको अवस्था कमजोर भएको उनले बताइन् । जिल्लाबाट बिरामीको उपचारका लागि विशेष टोली गाउँमा पुगेको थियो । टोलीको उपचारबाट २४ जना स्वस्थ भएर घर फर्किसकेको उनले प्रस्ट्याइन् ।

Loading...