खुकुरीले ९ जनालाई सिध्याउने घटनाका आशंकित व्यक्ति नै झुण्डिएको अवस्थामा फेला परे

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको घटनामा अाशंका गरिएका व्यक्ति  झुण्डिएको अवस्थामा फेला परेका छन् ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले ती युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिएकी हुन् । झुण्डिएको अवस्थामा फेला परेकाे शव मानबहादुर माखिमको भएकाे प्रहरीले पत्ता लगाएकाे छ । उनकाे शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएकाे थियाे । 

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । 

९ जनाकाे हत्या घटनाकाे अनुसन्धान खटिएकाे प्रहरीले झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक फियाक परिवारका ज्वाइँ भएकाे बताएकाे छ । उनको ससुराली परिवारसँग राम्रो सम्बन्ध नभएकाे र उनकी श्रीमतीले पनि पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकाे बुझिएकाे छ ।

प्रहरीले याे घटनामा माखिम परिवारका ज्वाइ मानवहादुरकाे हात रहेकाे हुनसक्ने अाशंका गरेकाे थियाे । घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले उनीमाथि अाशंका गरेकाे थियाे ।

यस्तै पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूराे सीआईबीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सीआईबीका एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृतको टोली पाँचथर प्रस्थान गरेको हो ।

घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

उता प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाने तयारीमा रहेका छ । अनुसन्धानमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण नाकाहरु शिल गरेर प्रहरीले अभियुक्तको खोजी सुरु गरिसकेको जनाएको छ।

गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स तरिकाले हत्या भएको हो।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिका खजुमले बताएकी छिन् ।

भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे।’

पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको छ। स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए।

यस्तै घटनास्थलतर्फ एक नम्बर प्रदेश प्रहरीका अनुसार हत्या अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री आफैं हिँडेका छन्।

उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारी गरेको छ। ‘यहाँबाट अनुसन्धानमा टोली पठाउने तयारी भइरहेको छ,’ ब्युरो निर्देशक निरजबहादुर शाहीले भने ।

 

याे समाचार पनि पढ्नुहाेस

एकैरात खुकुरीले हानेर ९ जनाको विभत्स हत्या

 
Loading...