एकैरात खुकुरीले हानेर ९ जनाको विभत्स हत्या

फिदिम । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार हत्याराले ढोका थुनेर सामूहिक हत्या गरेका हुन्।

उनले भने, ‘गाउँलेले थाहा पाउलान् भनेर हत्याराले ढोका थुनेर हत्या गरेर भागेको गाउँलले बताए। ढोका थुनेपछि हामफालेर भाग्न खोज्दा १ जनाको खुट्टा भाँचिएको छ। उनी घाइते छन्। स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भन्ने जानकारी आएको छ।’

वस्तीका अनुसार गएराति विभत्स घटना भएपनि घटनाबारे जानकारी आज बिहान पौने ६ बजे मात्रै उनलाई आएको थियो। घटनाबारे जानकारी आउने वित्तिकै नजिकैको प्रहरी चौकीबाट प्रहरी खटाइएको उनले टेलिफोन कुराकानीका क्रममा जानकारी दिए।

उनले भने, ‘निकै विभत्स घटना भयो। जानकारी पाउने वित्तिकै नजिकैको चौकीबाट प्रहरी पठाइयो भने जिल्ला प्रहरी कार्यालयबाट डिएसपीसहितको टोली पनि घटनास्थल गइसकेको छ।’

वस्तीका अनुसार नजिकैको चौकीबाट घटनास्थल २०/२२ किलोमिटर टाढा छ भने सदरमुकामबाट करिव ६० किलोमिटर टाढा पर्छ। नजिकैको चौकीबाट गएको प्रहरीले अहिले प्रारम्भिक विवरण लिइरहेको उनले जानकारी दिए। विकट ठाउँ र कच्ची बाटो भएकोले तत्काल घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए।

गाउँलेको भनाइ उद्धृत गर्दै वस्तीले दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि घटनास्थलमा पुगेका छन्। प्रजिअ वस्तीले डिएसपी नेतृत्वको टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने बताए। यति धेरै जनाको विभत्स हत्या कसले, किन गर्यो भन्नेबारे केहि खुलेको छैन ।

यता पाँचथरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मुरारी वस्तीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट डीएसपी र नजिकैको इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको उनले बताए ।

पाँचथरसँगै छिमेकी जिल्ला झापाबाट पनि प्रहरी बोलाइएको छ । घटनाबारे अनुसन्धानका लागि झापाको साथ खोजिएको प्रजिअ वस्तीले बताए । प्रजिअ वस्तीका अनुसार, झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ लागेको छ ।

 

Loading...