विश्वकर्माको तमसुक सार्वजनिक

काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष पदम विश्वकर्माको कथासंग्रह तमसुक सार्वजनिक भएको छ । काठमाडौंमा विशेष कार्यक्रम गरी ‘तमसुक’ सार्वजनिक गरिएको हो ।

कथासंग्रह तमसुक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आख्यानकार माया ठकुरी, विशेष अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, दामोदर पुडासैनी, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, गोरखापत्रका सम्पादक श्रीओम शर्मा रोदन लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

लामो समयदेखि विदेशी भूमिमा रहेर साहित्य सिर्जनामा सक्रीय विश्वकर्माले यस कथासंग्रहमा आफ्ना अनुभूतिलाई गहिरोगरी प्रस्तुत गरेका छन् । नेपालको परिवेशका साथै अमेरिकी परिवेशमा घट्ने विविध घटनाहरुमा आधारित भएर कथाकार विश्वकर्माले यो कृति तयार पारेका छन् ।

लमजुङको धमिलीकुवामा जन्मिएका साहित्यकार विश्वकर्माले यस अघि ‘शब्दसुमन’ कवितासंग्रह पनि प्रकाशन गरिसकेका छन् । डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०१८ लगायत विभिन्न पुरस्कार तथा अभिनन्दनले विभूषित भएका साहित्यकार विश्वकर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन् २०१४—२०१८ सम्म दुई वर्षे कार्यकालका लागि निर्वाचित केन्द्रीय अध्यक्ष हुन । साथै उनी अनेसासकै बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष समेत रहेका छन् ।

जातीय भेदभाव विरुद्धको विश्वमञ्चका उपाध्यक्ष रहेका विश्वकर्माका केही कथामा उनले नेपाली जनजीवनलाई जीवन्त चित्रण गरिएको छ । साथै डीभी परेर अमेरिका जाने नेपालीहरु, गाउँ छाडेर सहर पसेका युवाहरु र विकसित मुलुकका सम्पन्न नागरिकहरुले भोग्ने मानसिक आघातका ब्यथाहरु पनि यसमा समेटिएका छन् ।

यो कथासंग्रहको सम्पादन थुप्रै साहित्यिक कृतिहरुको सम्पादन गरिसकेका साहित्यकार रमेश दाहालले गरेका हुन् । दाहालले सम्पादनका क्रममा यस पुस्तकले आफूलाई निकै छोएको बताए । नेपालका गाउँघरका जनजीवनका साथै विदेशमा बस्ने नेपालीहरुले के कस्तो अनुभूति गरिरहेका छन भन्ने पनि यो कथासंग्रह पढेर थाहा पाउन सकिने उनले बताए ।

शिखा बुक्सले प्रकाशन गरेको यस कृतिको विमोचन कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र शिखा बुक्सले संयुक्त रुपमा गरेका थिए ।

Loading...