एकै सिजनमा २ पटक चढेको रेकर्ड पनि तोड्दै कामिरिता, यो सिजन दोस्रोपटक सगरमाथा चढ्दै

काठमाडौ, २ जेठ । विश्वकाे सर्वाेच्च शिखरमा सबैभन्दा बढी अाराेहण गरेर रेकर्ड कायम गरेका कामीरिता शेर्पाले यस सिजन २ पटक चुचुराेमा पुग्ने भएका छन् । गएकाे बुधवार मात्र अाफ्नै कीर्तिमान तोड्दै २३ औं पटक सगरमाथा चुचुरोमा पुगेर बेसक्याम्प फर्केका उनी फेरि चुचुराेमा पुग्ने भएका हुन् ।

सेभेन समिटमा वरिष्ठ गाइडका रुपमा काम गरिरहेका उनी शनिवार फेरि बेसक्याम्पबाट सगरमाथा चढ्नेछन् । सोलुखुम्बुकाे थामेका ४९ वर्षीय कामीरिताको याे २४ औं आरोहण हुनेछ। शनिवार उनी अरु विदेशी आरोहीका साथ सगरमाथा चढ्ने बताइएकाे छ । उनका लागि सेभेन समिटले शुक्रबार पर्यटन विभागमा दोस्रोपटकको अाराेहणकाे अनुमतीका लागि अनुमति मागिसकेकाे बताइएकाे छ ।

कामीरिताले यसअघि पनि एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरिसकेका छन् । याे उनकाे एकै सिजन २ पटक सगरमाथा चढेकाे चौथो पटक हुनेछ। उनले सन् २००९, २०१० र २०१३ मा एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेका थिए।

सेभेन समिटले कामीरितालाई वार्षिक ३० हजार अमेरिकी डलरमा २ वर्ष अघि अनुबन्ध गरेको थियाे । उनी त्यसअघि अमेरिकी कम्पनी अल्पाइन एसेन्टसँग अावद्ध थिए ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्नेमा सोलुखुम्बुकै आप्पा शेर्पा, फुर्वातासी शेर्पा र ङिमा नुरु शेर्पा छन्। उनीहरूले २१ पटक चुचुरामा पाइला राखिसकेका छन्। सन् २०११ मा २१ औं पटकको कीर्तिमानी राखेर आप्पाले आरोहणबाट विश्राम लिइसकेका छन्।

उनीपछि २०१३ मा फुर्वातासी आप्पाकै हाराहारीमा पुगेका थिए। निमा नोरु शेर्पा भने २२ औं पटकका लागि यस सिजनमा आरोहण गर्दैछन्। २४ वर्षको उमेर छँदा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका कामीरिताले २५ पटक आरोहण गरेर मात्रै विश्राम लिने सार्वजनिक घोषणा गरेका छन्।

एकपटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चुचुरामा पुगेका कामीरिताले २२ पटक नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा चुचुरामा पाइला राखेका हुन्। यीनले ८ हजारभन्दा अग्ला सगरमाथा बाहेक आठपटक चोयू, एकपटक ल्होत्से, दुईपटक मनास्लु र एकपटक पाकिस्तानमा रहेको केटू गरी ३५ पटक आरोहण गरीसकेका छन्।

Loading...