गणतन्त्र दिवस तीन दिनसम्म मनाउने सरकारको तयारी

काठमाडौं, २४ बैशाख । सरकारले ३ दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम सार्वजनिक गरेको हो ।

गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी सो दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र जनताको प्रणाली भएकाले त्यसलाई जनस्तरमै मनाउने गरी तयारी गर्न पनि सम्बन्धित सबै निकायलाई अनुरोध गरे । गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने सो कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने बताइएकाे छ । कार्यक्रममा सांस्कृतिक झाँकी हुनेछ भने साँझ दिपावली गरिनेछ । गणतन्त्र दिवसको अघिल्लो दिन सबै तहका सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र व्यानर सजाई नगरको सफाई र श्रृंगार गर्नुपर्नेछ ।

त्यसैगरी सोही अवसरमा आम नागरिकलाई घरघरमा सरसफाई र साँझ दिपावली गर्न अनुरोध गर्ने कार्यक्रम पनि तय गरिएको गृह सचिव प्रेमकुमार बताए । गणतन्त्र दिवसको भोलिपल्ट सबै जिल्लामा वृक्षारोपण गर्नेलगायतका कार्यक्रम पनि रहेका छन् । संविधानसभाको पहिलो निर्वाचनपछि बसेको संविधानसभाको पहिलो बैठकले २०६५ साल जेष्ठ १५ गते राजतन्त्रको अन्त्य गरी गणतान्त्रिक मुलुक भएको घोषणा गरेको थियो ।

Loading...