एकै ठाउँको भवन शिलन्यास गर्न केन्द्रबाट दर्जन मन्त्रीको लर्को

बारा, २१ बैशाख । वर्तमान सरकारका एक दर्जन मन्त्रीहरु एकैसाथ एकै ठाउँमा भवन शिलन्यास गर्ने कार्यक्रममा पुगेका छन् ।

गत चैत १७ आएको हावाहुरी प्रभावितहरुका लागि भवन निर्माणको शिलान्यास गर्न १० जना संघीय सरकारका मन्त्री बारा पुगेका हुन् । बारा र पर्साका बिभिन्न स्थानमा एकैपटक शिल्यान्यास गरेर घर निर्माण कार्यको थालनी गरिएको छ ।

नेपाली सेनाले निर्माण गर्न लागेका १ हजार ४५३ वटा घरलाई १२ ब्लकमा विभाजन गरी सेनाले कार्यारम्भ गर्न लागेको छ । शिलान्यास गर्नुपूर्व बाराको फेटा गाउपालिका अन्तर्गत पर्ने पुरैनियामा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले वर्षा अगाबै सबै पीडितका लागि घर निर्माण सम्पन्न गरिसक्ने बताए ।

हुरी प्रभावित सबै क्षेत्रमा एकैसाथ शिलान्यासको काम गरिएको भन्दै मन्त्री पोखरेलले समयमै काम पूरा हुनेमा बिश्वस्त हुन आग्रह गरे। प्रभावितका लागि घर निर्माणमा जग्गा अभाव हुन नदिन स्थानीय सरकारलाई आग्रह गरे ।

हाल ऐलानी पर्ती जग्गामा बसोबास गर्दै आएकाहरुलाई प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गरि भवन निर्माणमा सहयोग गर्न आग्रह गरेको छ । जसका लागि प्रदेश २ सरकारका मुख्यमन्त्रीको संयोजिकत्वमा संमन्वय समिति बनाइएको छ । नेपाली सेनाले आवश्यक बजेट र घरको नक्सा, डिजाइन लगायतका काम सम्पन्न गरी सकेको जनाएको छ ।

उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बाराको फेटा गाउपालिका ६ पुरैनिया स्थित इजहार मियाको घरको शिलान्यास गर्दै भवन निर्माणको औपचारिक शुरुवात गरेका छन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रसौनी गाउपालिका–४ खुटवाजब्दीमा घरको शिलान्यास गरेका छन् ।

यसैगरी शहरी बिकास मन्त्री ईस्तियाक राईले फेटा गाउँपालिका–१ भरवलिया, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सुवर्ण गाउँपालिका ४ हर्दियामा पुगेर हुरी पिडितको घर शिलान्यास गरेका छन् ।

घर शिलान्यासकै लागि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव परवानिपुर गाउपालिका–४ चैनपुर, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याल बाराको महागढिमाई ७ स्थित तेलगाई र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया धामी फेटा गाउपालिका १ स्थित भलुही पुगेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पचरौता नगरपालिकाको वडा नं।७ स्थित बेनौली, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर वीरगञ्ज महानगरपालिकाको उदयपुर घुर्र्मी, सिंचाईमन्त्री बर्षमान पुन पर्साको जगन्नाथपुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र पूर्वी पृतनाका पृतनापति उपरथी नरेशचन्द्र भट्टले कलैया उपमहानगरपालिका १३ स्थित छोड्की फुलवरियामा एकैसाथ भवन निर्माणको शिलान्यास गरेका छन् ।

आवास शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बिपतको बेला प्रधानमन्त्री, प्रधान सेनापति, मुख्य सचिव र संघीय सरकारका मन्त्रीहरुले देखाएको सदभावप्रति धन्यवाद व्यक्त गर्दै आवास निर्माणमा नीतिगत र हरप्रकारको सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।

Loading...