ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार सम्पन्न

मेलाको लागि पूर्वाधार बनाउन ध्यानाकर्षण

ललितपुर, १ बैशाख । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा भएकाे ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार समापन भएको छ । बुधबारबाट संचालित मेलामा उत्साहजनक कारोबार भएको आयोजकले बताएको छ ।

मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, नेपाली हस्तकलाको सामानहरु उल्लेख्य बिक्री वितरण भएको अायाेजकले जनाएका छन । त्यसैगरी तन्ना, लुगा, ब्लाकेट लगायतको कारोबार उत्साहजनक रहेको व्यवसायी बाबुराजा ज्यापूले बताए । मेलामा अहिलेसम्म उल्लेख्य कारोबार भएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिए । 

मेलामा राखिएका १२ फिटका बुद्धमूर्ति, दुई मिटरको पदमसम्भव, करिब ५ फिट सहस्रभुज लोकेश्वर सबैको आकर्षक बनेकाे थियाे । ललितपुरमै उत्पादित धातुका मूर्तिहरुमा कुँदिएका कलात्मक बुट्टाको प्रंशसा सहभागीहरुले गरेका थिए । मेलामा नेपाल आर्ट भिलेजको स्टलमा कलाकार राजकुमार महर्जनले मानव मूर्ति बनाएको जीवन्त प्रदर्शनी पनि धेरैका लागि रोचक विषय बन्यो।

मेलामा करिब १ सय वटा स्टलहरु रहेको थिए । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सज्जावटका गरी ३० वटा स्टल रहेका थिए । त्यसैगरी नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिना, लगायत ७० वटा स्टल पनि समावेश थिए । विभिन्न महिला समूहले उत्पादन गरेका सामग्रीको बिक्री वितरण राम्रो रहेको बताइएको छ ।

संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक शाक्यले जानकारी दिए ।

‘मेलाको लागि चयन गरिएको स्थान, सज्जावटका हिसाबले प्रायः काठमाडौंको भृकुटीमण्डपमा हुने यस खालका मेला ललितपुरमा पनि हुने र गर्न सक्ने सम्भावना छ भन्ने सन्देश दिएको छ ।’ प्रचारप्रसार संयोजक शाक्यले भने । 

ललितपुरमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको लागि उचित ठाउँको बन्दोबस्त मिलाउनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार समापन गरिएको छ ।

ललितपुर उद्योग वाणिज्य संघले पुल्चोक, नटोलस्थित मदनस्मारकको प्रांगणमा मेला आयोजना गरेर संघ, प्रदेश र स्थानीय तहलाई सो विषयमा ध्यानाकर्षण गराएको हो ।

यसअघि अधिकांश मेला, महोत्सव पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा हुने गर्दथ्यो । मेला सञ्चालन भएको स्थानले पनि यस पटकको मेलामा नयाँपन दिएको मेलाका अवलोकनकर्ताहरुको प्रतिक्रिया रहेको छ ।

Loading...