चितवनमा रहस्यमय घटनाः आमा, छोरा र छोरी घरभित्रै झुन्डिएको अवस्थामा फेला परे

चितवन, २२ चैत । नेपाली सेनामा कार्यरत एक सिपाहीकी श्रीमती, छोरा र छोरी एकैसाथ झुन्डिएको अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरमा उनीहरु रहस्मय तरिकाले मृत फेला परेका हुन् ।

भरतपुर शशिनगरको शहरी क्लिनिक टोलमा उनीहरु आफ्नै घरभित्र एकै ठाउँमा छुट्टा छुट्टै सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् । नेपाली सेनामा कार्यरत रहेका नरबहादुर आलेमगरकी ३४ वर्षीय श्रीमती माया आलेमगर, अन्दाजी १४ वर्षकी छोरी विनिता मगर र अन्दाजी १२ वर्षका छोरा विवेक मगर आफ्नै घरभित्र सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले उनीहरूको हत्या हो या आत्महत्या हो भन्ने खुल्न नसकेको र यसबारे अध्ययन भइरहेको जनाएको छ । स्थानीयवासीले भने आमाले पहिला छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने बताउने गरेका छन् ।

अहिले तीनै जनाको शव भरतपुर अस्पतालमा लगिएको छ । शव परिक्षण गरेर घटनाको अध्ययन गर्ने प्रहरीले जनाएको छ ।

Loading...