श्रीमानसँगको अंश मुद्दा किनारा लाग्ने बेला केकमा बेहोस बनाउने औषधी मिसाएर अनिताको हत्या

कपिलवस्तु, २२ चैत । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि अदालतमा अंश मुद्दाको किनारा लाग्ने चरणमै कपिलवस्तुमा श्रीमतीको हत्या भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको यसरी रहस्यम तरिकाले हत्या भएको हो ।

प्रहरीले हत्या भएको एक महिनापछि उनको हत्यामा सम्लग्न भएका तीन जनााई पत्ता लगाएर पक्राउ गरेको दावी गरेको छ । तर, उनको हत्यामा सम्लग्न भन्दै पक्राउ परेका अभियुक्तलाई भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा एक महिला र दुई पुरुष रहेको प्रहरीले जनाएको छ ।

अनिता आफ्ना श्रीमानसँग सम्बन्ध चिसिएपछि अंश लिएर अलग बस्ने सोचमा थिइन । सोही अनुसार उनीहरुको जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो । मुद्दाको अन्तिम किनारा लाग्ने चरणमा रहेकै बेला फागुन १० गते उनको हत्या भएको थियो ।

उक्त हत्याको अनुसन्धान गर्दै जाँदा प्रहरीले बुधबार मात्र अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । प्रहरी स्रोतका अनुसार पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको छ ।

कपिलवस्तु प्रहरीले हत्याराको खोजी गर्न प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

Loading...