नेपाली भाषा, साहित्य र सामाजिक अवस्था बुझ्न नेपालदेखि बर्मासम्मको साहित्यक सदभावना यात्रा

काठमाडौं । बर्मामा रहेका नेपाली भाषीहरुको अवस्था बुझ्न तथा त्याँको सामाजिक अध्ययन गर्नका लागि नेपालका विभिन्न क्षेत्रमा क्रियाशील साहित्यकारहरुको एक टोली रंगुन पुगेको छ ।

नेपाली भाषा, साहित्य तथा शैक्षिक जागरण, नेपाली जातीय चेतना, नेपाली समाजको सामाजिक अध्ययन सहित म्यान्मार र नेपाल बीचको साहित्यिक सांस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले रंगुन साहित्यिक यात्रा गरिएको हो । सो अवसरमा अखिल म्यान्मार देशीय हिन्दू धार्मिक संघको तत्वावधानमा गोर्खाली गाथाको ऐतिहासिक विरासत कायम राखी नेपाली जातीय पहिचान र अस्तित्व बोकेका नेपालीहरूको बाहुल्य भएका शहर तथा वस्तीहरुमा शैक्षिक तथा साहित्यिक कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

उक्त भ्रमणमा नेपालबाट नियात्राकार युवराज नयाँघरे, भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे तथा पत्रकार अश्विनी कोइरालाको टोली सहभागी भएको थियो । उनीहरुलाई बर्माको तमू शाखाले पहिलो स्वागत गरेको थियो । तमूमा आयोजित कार्यक्रममा तमूका साहित्यकार रुद्र गजुरेल, अमित घिमिरे तथा शिक्षा बिभाग प्रमुख कुसुम गौतमले म्यान्मारमा नेपाली भाषा साहित्य तथा शैक्षिक अवस्थितिका बारेमा विभिन्न बिचार राखेका थिए। सोही अवसरमा नेपालबाट म्यान्मार पुगेका तीनैजना सर्जकले नेपाली भाषा र साहित्य समृद्ध पार्न सिर्जनात्मक र रचनात्मक भूमिका खेल्ने धारणा ब्यक्त गरेका थिए।

सदभावना यात्रालाई अखिल म्यान्मार देशिय हिन्दू धार्मिक संघ केन्द्रीय समितिसँग संयोजन गर्दै नेपाली साहित्यिक परिवार तमूका अमित घिमिरेले माण्डले, यकसक, टाउँजी, मिचिना लयागतका क्षेत्रहरुमा नेपाली जनजीवनको सामाजिक अध्ययन, साहित्यिक तथा शैक्षिक कार्यक्रम, अन्तरक्रिया, कवि गोष्ठी समेतको संयोजन गरेका थिए । मण्डलेमा आयोजित कार्यक्रममा नेपालबाट आएका श्रष्टाहरुलाई हिन्दू संघका केद्रीय अध्यक्ष सागर घिमिरे लगायतका केन्द्रीय समितिका पदाधिकारीले सम्मान गरेका थिए ।

म्यान्मारको राजधानी यांगौं (रंगुन)मा आयोजित बिशेष कार्यक्रममा म्यान्मारको साहित्यिक तथा शैक्षिक स्तरोन्नति, साहित्यिक एवम् सांस्कृतिक आदान प्रदान, अनुवाद संग्रह प्रकाशन आदिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा साहित्यकारहरू ठाकुर गुरागाईं, बिष्णु पंथी, टेकनारायण रिमाल, धनी गौतम, प्रविणहरि प्रधान, लक्ष्मण न्यौपाने, मोती गुरागाई, अमित घिमिरे, चतुर्वेदी खनाल आदिले आआफ्ना विचार र रचना प्रस्तुत गरेका थिए । सोही अवसरमा नेपालबाट म्यान्मा (बर्मा) आएका साहित्यकारहरूलाई यांगौं शाखाद्वारा सम्मान गरिएको थियो । कार्यक्रम शाखा अध्यक्ष चित्र जि.सि.को सभापतित्वमा सम्पन्न भएको थियो।

Loading...